
बिशेषत: दाशढुंगा र लूटबाट फिल्मी दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका कलाका धनी दयाहाङ राईलाई दिपेन्द्र के खनालले झोले बनाउँदैछन् । यहि मंसिर १८ गतेबाट सुटिङ शुरू हुन लागेको फिल्म 'झोले' मा दिपेन्द्रले दयालाई पहिलो पटक सोलो भुमिकामा प्रस्तुत गर्न लागेका हुन् ।
'दयाको कामबाट म प्रभावित थिएँ त्यसैले लिड रोलमा उसलाई अनुबन्धित गरेको हुँ', निर्देशक खनालले भने, 'फेरि कथा सुहाउँदो रोल भएकाले पनि दयाको विकल्प नदेखिएको हो ।' शुरूमा आफ्नै फिल्म भिजिलान्तेका नायक सुवास थापालाई दिपेन्द्रले झोले बनाउने निर्णय गरेका थिए तर सुवाससँग केहि कुरा नमिलेपछि अन्तिम समयमा दयालाई आफ्नो मुख्य हिरो बनाएका हुन् ।
देश नै झोले भईरहेका बेला जनता पनि हरेक तरिकाले झोले बनिरहेका छन् भन्ने कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरि डार्क कमेडी फिल्म बनाउन लागेको बताउने दिपेन्द्रले अहिले रजतपटमा निकै चर्चामा रहेकी नायिका प्रियंका कार्कीलाई बेस्याको भुमिकामा प्रस्तुत गर्दैछन् । तर उनले फिल्ममा सेक्सुअल कन्टेन्टलाई प्राथमिकता नदिई टिपिकल नेपाली फिल्म बनाउने बताए ।
धादिङबाट सुटिङ शुरू हुने झोलेमा ए गुरूङ र शिशिर राणा पनि मुख्य भुमिकामा रहने दिपेन्द्रको भनाई छ । शान बस्नेतले तयार पारेको कथामा केहि नयाँ प्रयोगका साथ फिल्म बनाउन लागेका दिपेन्द्रले छायाँकनको जिम्मा पुरूषोत्तम प्रधानलाई दिएका छन् भने प्रोडक्सनको जिम्मा बुद्धीलाल मगरले पाएका छन् । फिल्मलाई टेकेन खड्का र मनोज भट्टले निर्माण गर्नेछन् ।