
कहिले आर्थिक समस्या त अखिले कलाकारको समस्या अनि कहिले अन्य प्राबिधिक समस्यामा रूमल्लिएको फिल्म 'म अनि तिमी' को एक बर्ष पछि आजबाट पुन: सुटिङ शुरू गरिएको छ ।
१५ दिनको सेड्यूल निकालेर पाँच वटा गीत, फाईट र केहि चित्त नबुझेका सिनलाई काठमाण्डौ र कुलेखानीमा सुटिङ गर्ने डेब्यू निर्देशक बिभोर पोखरेलले फिल्मीखबरलाई जानकारी गराए । 'कहिले काहिं नसोचेको समस्या झेल्नु पर्ने रहेछ', थुप्रै म्युजिक भिडियो निर्देशनको अनुभव पछि फिल्म निर्देशक बनेका पोखरेलले भने, 'अब हामी फिल्मलाई छिट्टै नै रिलिज गर्ने योजनाका साथ कामलाई अगाडी बढाउने छौं ।'
योज्मा इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा चिन बहादुर गुरूङले निर्माण गरेको फिल्म 'म अनि तिमी' मा राजेश हमाल, अनु शाह, बेनिशा हमाल, आकर्षण पोखरेल र निस्तेज निरौलाले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको सो फिल्मको कथा निर्देशक पोखरेलले नै लेखेका हुन् भने गायक भरत सिटौलले संगीत दिएका छन् । शुरूमा दिनेश श्रेष्ठले फिल्मलाई खिचेका थिए भने अहिले अर्जुन तिवारी र दिनेशले फिल्मलाई खिचिरहेका छन् ।