
नेपाली भाषी नागरिकहरुको बाहुल्य रहेको भारतको दक्षिण बङगाल दार्जिलिङ स्थित कालिङपोङमा फिल्म सिटी निर्माण हुने भएको छ । बलिउड सहित नेपाली फिल्मकर्मीलाई पहिलो प्राथामिकतामा राख्दै दार्जिलिङ प्रशासनले फिल्म सिटी निर्माणको योजना अघि सारेको हो ।
गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनेष्ट्रेशन –जीटीएका सूचना तथा संञ्चार एवं संस्कृती विभाका प्रमुख विनय तामाङले नेपालबाट सुटिङका लागि आएको वितेका पल यूनिट सहित नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसंगको एक अन्र्तक्रियामा कालिङपोङमा भब्य शैलीमा फिल्म सिटी निर्माण हुन लागेको जानकारी दिएका हुन् । तामाङका अनुसार आउदो फ्रेब्रुअरी देखि फिल्म सिटीको भौतिक संरचना निर्माणको कार्य औपचारिक रुपमा सुरु हुदैछ ।
दिईएको जानकारी अनुसार करिब ९ एकड जमिनमा फिल्म सिटी निर्माण हुन लागेको हो । 'तपाईहरु आज आफ्ना टेक्निकल सामान सहित यहाँ आउनु भएको छ जसकारण बजेट पनि बढ्यो तर फिल्म सिटी निर्माण भएपछि यस किसिमको दुःख अन्य फिल्ममेकरले यो क्षेत्रमा पाउने छैनन्', सञ्चार प्रमुख तामाङले साक्षतत्कारमा भने । साक्षत्कारमा सिक्किमबाट आएका फिल्मकर्मी एवं सो क्षेत्रको सरकारी निकायको पहुचमा रहेका विशाल चाम्लिङले पनि मनोरञ्जन क्षेत्रको विकासको लागि आफ्नो राज्यबाट हरेक सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
यस्तै नेपालबाट आएका निर्माता संघका अध्यक्ष राजकुमार राईले अन्य गतिविधि र योजना दार्जिलिङ प्रशासनको आकर्षक भए पनि सर्वप्रथम नेपाली फिल्म प्रदर्शनको वातावरण मिलाउन आग्रह गरेका थिए । राईले केही उच्चकोटीमा गनिएका नेपाली फिल्मलाई आफ्नो संस्थाले छनौट गर्ने र छनौट गरिएका फिल्महरुलाई नियमित एवं ब्यवस्थित शैलीमा प्रदर्शन गर्ने वातावरण दार्जिलिङ प्रशासनबाट पाएमा त्यो नै आफूनो लागि ठूलो उपलब्धी हुने बताए । जवाफमा सञ्चारप्रमुख तामाङले सरकारी स्तरको एक बहसको वातावरण बनाई यो प्रक्रिया अगाडी बढाएको खण्डमा दुवै पक्षलाई राम्रो हुने बताए । यस्तै तामाङले विशेषत नेपालबाट बनेका फिल्महरुको नियमित प्रदर्शनको ब्यवस्थालाई अझ ब्यवस्थित गर्ने हो भने दार्जिलिङका फिल्ममेकरसंग जोईन्ट भेन्चरमा फिल्म निर्माण गर्न आग्रह गरेका छन् ।