
गत भाद्र १२ गते चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट गणेश भण्डारीले राजिनामा दिए पछि नेपाल सरकारले अहिले सम्म पनि नयाँ अध्यक्ष चयन गर्न सकेको छैन । नेपाली फिल्मको सबै भन्दा ठूलो संस्था विकास बोर्डमा अध्यक्ष पद खाली हुँदा फिल्मकर्मीले आफूलाई टुहुरो महसुस गरिरहेको अवस्थामा सरकार भने मौन देखिएको छ ।
सञ्चार मन्त्री राजकिशोर यादवले भण्डारीको राजिनामा मागेपछि अहिले सम्म अध्यक्ष नियुक्त गर्न नसक्दा उनलाई फिल्मकर्मीले लाचारीको संज्ञा दिएका छन् । बोर्डका एक सदस्य भन्छन्, 'अध्यक्ष नियुक्त गर्न नसक्नेले किन राजिनामा माग्नु ?' मन्त्री परिषदको बैठकले भण्डारीको राजिनामालाई कार्तिक २ गते मात्र स्विकृत गरेको बोर्डका एक कर्मचारीले बताए । भण्डारीले राजिनामा दिए पछि सदस्य सचिव धनराज ज्ञवालीले उनको कार्यभार सम्हाल्दै प्रशासनिक कार्यलाई हेरिरहेका छन् तर बोर्डले अहिले सम्म कुनै ठोस निर्णय र कार्य गर्न सकेको छैन ।
गत बर्षबाट असोज १ गते चलचित्र दिवस मनाउने निर्णय गरिएको थियो तर यो बर्ष अध्यक्ष नहुँदा चलचित्र दिवस त्यसै नै तुहेर गयो । यस्तै हरेक बर्ष वितरण गरिने राष्ट्रिय अवार्ड पनि गत बर्ष देखि हुन सकेको छैन । यो बाहेक पनि बोर्डले गर्नुपर्ने कुनै काम अहिले सम्म हुन सकेको छैन । बोर्डका प्रवक्ता विकाश आचार्य भन्छन्, 'अध्यक्ष नहुँदा कुनै आधिकारिक निर्णय गर्न सकिएको छैन जसले गर्दा अहिले बोर्डको कुनै काम अगाडी बढ्न नसकेको हो ।' किन सरकार मौन देखिएको होला भन्ने जिज्ञासामा आचार्य भन्छन्, 'सायद उहाँहरूको नजरमा फिल्म क्षेत्र प्राथमिकतामा परेन होला ।'
अध्यक्ष नहुँदा हाल बोर्ड पनि सुनसान छ । बोर्ड अध्यक्ष नियुक्त अझै केहि सात नहुने लक्षण देखिएको छ । किनकी राष्ट्रपती रामवरण यादवले प्रधानमन्त्रीलाई मंसिर ७ गते भित्रमा कुनै ठोस निर्णय दिन नसके जुनसुकै कदम चाल्ने चेतावनी दिएका छन् । जसले गर्दा मंसिर ७ गते पछि सरकार ढल्ने संकेत देखिएकाले नयाँ सरकार गठन भएर बोर्डमा आँखा लाग्न केहि दिन पक्कै लाग्ने छ । त्यसैले बोर्डको अध्यक्ष को र कहिले नियुक्त हुन्छ भन्ने अनभिज्ञता बोर्डका कर्मचारी सहित सम्पूर्ण फिल्मकर्मीमा छ । तर पनि सबै फिल्मकर्मीको एउटै आवाज छ, बोर्डको अध्यक्ष फिल्मलाई बुझेको र यहि क्षेत्रको हुनुपर्छ ।