
गीत हिट भएपछि त्यसको रिमिक्स भर्सन निकाल्ने गरिन्छ । यहि चलनलाई फिल्म थ्री लभर्सले पनि आत्मसाथ गर्दै हाल सञ्चारमाध्यममा चर्चामा रहेको सुन्तली माई बोलको गीतको रिमिक्स भर्सन तयार गरि रिलिज गरेको छ ।
राजन इशानले तयार गरेको म्युजिकमा एड्रीको स्वर रहेको सो गीतमा फिल्मका तीन मुख्य पात्र प्रियंका कार्की, निरज बराल र देबु श्रेष्ठलाई फोकस गरिएको छ । मंसिर २२ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो गीतलाई प्रोमोशनमा बिशेष स्थानका साथ प्रयोग गरिने निर्देशक सुरेश दर्पण पोखरेलले बताए । 'सुन्तली माई बोलको गीतलाई त सबैले मन पराई दिनु भएको छ आशा छ यो रिमिक्स भर्सनलाई पनि मन पराईदिनु हुनेछ', सुरेशले बिश्वास व्यक्त गरे ।
यहि गएको शुक्रबार इजरायलमा भएको फिल्मको प्रिमियर पश्चात दर्शकको राम्रो प्रतिक्रिया पाएको बताउँदै डेब्यू नायक देबु श्रेष्ठले इजरायलबाट फिल्मीखबरसँग कुरा गर्दै भने, 'शनिबारको शोबाट पनि राम्रो प्रतिक्रिया पाएको छु । दर्शकको प्रतिक्रियाबाट निकै हौसला मिलेको छ ।' फिल्मको प्रिमियर पश्चात सोमबार साँझ देबु नेपाल फर्केपछि फिल्मको पब्ल्लिसिटीका लागि युनिटले नेपाल टुर गर्ने योजना बनाएको छ ।