
पाँच दिनको काठमाण्डौ सुटिङ पश्चात वितेका पल युनिट आज शनिबार दार्जिलिङ प्रस्थान गरेको छ । अनलाईन एडिट गर्ने योजना सहित निर्देशक सुरज सुब्बाको नेतृत्वमा वितेका पलको जम्बो टोली दार्जिलिङ प्रस्थान गरेको हो ।
निर्देशक सुब्बाले दिएको जानकारी अनुसार यो फिल्मको सुटिङ दार्जिलिङका कर्सयाङ, कालिङपोङ एरियामा हुनेछ । बाबु बोगटी, केकी अधिकारी तथा नयाँ हिरो अविनाश गुरुङ लिड रोलमा रहेको वितेका पल यथार्थ प्रेम कथामा आधारित रहेको बताईएको छ । फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् ।
बाटोमुनिको फुल निर्माणबाट एक्कसी चर्चा बटुलेका राजेश घतानीले फिल्मलाई निर्माण गरेका हुन् । घतानीले दिएको जानकारी अनुसार मंसिर ४ गते साँझ दार्जिलिङका विशिष्ट राजनीतिकर्मी, समाजसेवी तथा सेलिब्रेटी माझ भब्य कार्यक्रमका बीच फिल्मको अडियो सार्वजनिक गरिने छ । यसरी नेपाली फिल्मको अडियो बिदेशी मुलुकमा भएको सम्भवत यो पहिलो कार्यक्रम हुनेछ ।