
भाईटिकाको अवसर पारेर बिहिबार केहि हलमा रिलिज गरि शुक्रबार देशभरका हलमा एकसाथ प्रदर्शन भएको फिल्म लंकाले शुक्रबार राम्रो कलेक्सन गरेको छ । फिल्मीखबरलाई प्राप्त रिपोर्ट अनुसार पूर्वमा फिल्मको व्यापार अन्य भन्दा बढि आक्रमक छ ।
गत मंसिर ११ गतेका दिन सर्लाहीमा मुहुर्त गरी छायाँकन गरिएको फिल्म लंकाले सर्लाहीका विणा चलचित्र मन्दिर, लालवन्दी र जीवनदीप चलचित्र मन्दिर, बरहथवामा उत्साहजनक व्यापार गरेको छ । रेखा थापा अभिनित रावण फिल्म पश्चात उनै फिल्म लंकाले मन्दी लागेको अवस्थामा उत्साहजनक व्यापार गर्नुले स्टार पावरको क्षमता देखाएको प्रस्टिन्छ । सर्लाहीमा मात्र हैन देशभर नै चिसिएको फिल्म उधोगको अवस्थालाई लंकाले तताए पछि अहिले फिल्मकर्मीको मुहारमा रौनकता ल्याएको छ ।
सर्लाही तथा आसपासका जिल्ला रौतहट, महोत्तरी, धनुषा, सिन्धुली गरी तीन हजार दर्शकले आज लंका हेरेको फिल्म पत्रकार संघ शाखा सर्लाही/महोत्तरीका अध्यक्ष चन्द्र राईले बताए । उनका अनुसार आज लालवन्दीमा दर्शकको भिड अनियन्त्रित हुँदा ११ जना जनपथ प्रहरी परिचालन गर्नु परेको थियो । सर्लाहीमा छायाँकन हुनुले पनि दर्शकको संख्या यति धेरै भएको राईले बताए । सर्लाहीका दर्शकले देखाएको मायाबाट हौसिएका निर्देशक श्याम भट्टराईले अर्को फिल्मको सुटिङ पनि सर्लाहीमा नै गर्ने बताएका छन् ।
यस्तै पूर्वका बिर्तामोड, दमक लगायतका स्थानमा पनि फिल्मले आक्रमक व्यापार गरेको छ । दर्शकसँग प्रतिक्रिया लिन आज दमक पुगेकी नायिका रेखा थापाले दर्शकले देखाएको यो मायाबाट थप उत्साह मिलेको बताईन् । निलकण्ठ हलमा लंका हेर्न पुगेका दर्शकहरूले रेखालाई आफ्नो अगाडी पाए पछि निकै हौसिएका थिए । धेरै नै बेर दर्शकहरूले रेखालाई घेरेका थिए ।