
नेपाली फिल्म व्यवसायमा मन्दी आएको बेला भाईटिकाको दिन रिलिज भएको फिल्म लंकाले राम्रो शुरूवात गरेको छ । पूर्वका दमक, बिर्तामोड, लालबन्दी र पश्चिमको पोखरा र बुटवलबाट प्रदर्शनको शुरूवात गरेको लंकाले ओपनिङ राम्रो गरेको बितरक नरेन्द्र महर्जनले फिल्मीखबरलाई जानकारी गराए ।
फिल्मको बिजनेश निराशाजनक भईरहेको बेला लंका चल्ने संकेत राम्रो देखिएको छ', बितरक महर्जनले भने, 'फिल्म राम्रो मेकर कै चल्छ भन्ने यो एउटा राम्रो उदाहरण हो ।' जो पायो त्यही मेकरले जे पायो त्यही फिल्म बनाएर पनि नचलेको नरेन्द्रको भनाई छ । आजबाट देशभर करिब ७० हलमा लाग्ने यो फिल्मको बिजनेश राम्रो हुने हिजोको रिपोर्टले देखाएको नरेन्द्र बताउँछन् ।
फिल्मको ओपनिङ राम्रो देखिए पछि निर्देशक तथा निर्माता श्याम भट्टराई दंग छन् । पूर्वानुमान अनुरूप आफ्नो जन्मथलो सर्लाहीको लालबन्दीमा हिजो दर्शकको संख्या धेरै भएर हलले थेग्न नसकेको उनको भनाई छ । श्याम भन्छन्, 'दर्शकले पहिल्यै टिकट बुकिङको डिमाण्ड गरेर राम्रो संकेत देखिएको थियो । हिजोको रिपोर्ट हेर्दा त हामी फिल्म राम्रो चल्नेमा बिश्वस्त छौं ।'
चण्डिका फिल्म्सको व्यानरमा श्याम भट्टराईको साथमा ओम प्रकाश अग्रवाल, मालती शाह र संजय कुटुले संयुक्त लगानी गरेको यो फिल्ममा रेखाको साथमा किशोर खतिवडा, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, ध्रुव कोईराला, ममता प्रधान, अनु गायक, आयुष्मा कार्की, सिताष्मा थापा लगायतले अभिनय गरेका छन् । फिल्मलाई चर्चित निर्माता छबिराज ओझाले सल्लाहकारको रूपमा रहेर फिल्मको निर्माणमा सहयोग गरेका हुन् ।