
पूर्व नेपालको तुलना पश्चिम नेपालबाट कला क्षेत्रमा उदायका सृष्टाहरुको संख्या औलामा गन्न सकिन्छ । अघिल्लो पुस्तामा गीत संगीत तथा साहित्य क्षेत्रमा प्रेम प्रकाश मल्ल, मधुकर, नन्दकृष्ण जोशी, कमल निर्मोही र नेपाली फिल्म क्षेत्रमा विराज भट्ट ,सुमन सिहं, ऋचा शर्मा, बिरेन श्रेष्ठ, रीमा बिश्वकर्मा, शुष्मा कार्की लगायतले मोफसल देखि राजधानी सम्म सफल स्थान बनाएको देखिन्छ ।
हाल आएर नेपाली गीत संगीत होस् वा फिल्म बजार दुवैको अवस्था त्यति राम्रो नभईरहेको समयमा पनि नयाँ पुस्ताका अनुहार दिन प्रतिदिन बढ्दै गईरहेको देखिन्छ । अभ्यास बिना नै पर्दा अगाडी आउनेहरुको होडले दर्शकलाई केही निराश समेत बनाईरहेको अवस्था छ तर थुप्रै अनुहार मध्ये केही आश लाग्दो अनुहार पनि देखिएका छन् । त्यही भिडमा नेपालगञ्जका मोडल के. के. अधिकारीको चर्चा चल्न थालेको छ ।
बर्दियामा जन्मेर नेपालगञ्जलाई कर्मथलो बनाउँदै आएका मोडेल के. के. अधिकारी फिल्म दुनियाँमा केहि आश बोकेर आउने तयारीमा छन् । 'पैसाको ओइरो लगाएर म्युजिक भिडियो तथा पर्दामा देखिन खोज्ने तर अभिनयको अ अक्षर पनि नजानेकाहरु भन्दा माथि उठदै अगाडि बढने प्रयासमा छु', भन्छन् के. के. अधिकारी । गायिका माया अधिकारीको गीत 'मेरो नै रुप...' बाट पहिलो पटक कलाकारितमा प्रवेश गर्दा भिजे तथा मोडल अधिकारी सानो पर्दा तथा ठूलो पर्दामा आउन साथीभाई तथा आफन्तहरूले प्रोत्साहन दिए पछि अभिनयको मोह पलाएको बताउंछन् ।
सुर्य बुढाथोकीको प्रस्तुति तथा नरेश पौडेलको निर्देशन रहने फिल्म 'ब्वायफ्रेन्ड' को लागी अभिनय गर्ने मौका जुरे पछि आफ्नो सपना पूरा हुन लागेकोले उनी दंग छन् । तिहार पछि उक्त फिल्मको छायांकन शुरु हुने र अर्को फिल्मका लागि पनि कुराकानी भईरहेको उनी बताउंछन् । पछिल्लो समय आफैले लगानी गरी फिल्म बनाउने आफैले अभिनय गर्ने अनि फिल्मले पानी पनि पिउन नपाउने गरी फ्लप भए पछि हराउने परम्पराका बिच अभिनय क्षेत्रमा होमिन लागेका नव प्रवेसी अनुहार के.के. अधिकारीले आफुलाई कसरी स्थापित गराउने हुन् त्यो भने आगामी वर्ष नै थाहा हुने छ ।