
तीन वटा गीत समावेश गरिएको फिल्म 'पद्धमिनी' को आज एक कार्यक्रमका बिच अडियो सिडी सार्वजनिक गरियो । फिल्मका कलाकार, प्राबिधिक तथा केहि संघसंस्थाका प्रतिनिधीहरूले उक्त अडियो सिडी सार्वजनिक गरेका हुन् ।
अडियो सार्वजनिक गरे लगत्तै कार्यक्रममा बोल्दै संगीतकार चेतन सापकोटाले गीतमा नयाँ स्वाद दिएको बताए । तर आजै बिहान फिल्मीखबरले सार्वजनिक गरेको उक्त फिल्मको गीत कपि गरिएको आरोप चेतनलाई लागि सकेको छ । उनले पनि केहि हद सम्म प्रभावित भएको कुरालाई कार्यक्रम सकिएपछि बिशेष कुराकानीमा स्विकारेका थिए । कपिको आरोप लागेको दिल तोडेर नजाउ बोलको गीतलाई उनले नै लेखेका हुन् भने स्वर पनि चेतनको साथमा संगीता प्रधानले दिएकी छिन् ।
फिल्मको अन्य गीतमा प्रमोद खरेल र दुर्गा खरेलको स्वर रहेको छ भने शब्द सहदेव ढुंगाना र प्रमोद ढुंगानाको रहेको छ । कार्यक्रममा बोल्दै नायिका निशा अधिकारीले फिल्ममा निकै च्यालेञ्जिङ भुमिका निर्वाह गरेको बताउँदै निकै आशावादी समेत रहेको बताईन् । यस्तै निर्देशक राम प्यासीले पनि पहिलो फिल्म भए पनि आफ्नो तर्फबाट सक्दो मेहनत गरेर दर्शकलाई मन पर्ने फिल्म बनाएको बताए ।
पौष २७ गते रिलिज डेट पाएको यो फिल्मलाई बसन्त कुमार श्रेष्ठ र छिरीङ दोर्जे लामाले निर्माण गरेका हुन् भने निशाको साथमा अनिल थापा, सरिता गिरी र सुनिल दत्त पाण्डेको मुख्य अभिनय रहेको छ । फिल्मको कथा निर्माता छिरिङ र पटकथा तथा संवाद सहायक निर्देशक अनमोल शर्माले लेखेका हुन् । शिब ढकालले छायाँकन गरेको सो फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्द रहेको छ ।