
दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पदमा पुनः बिजयी भएका बाराक ओवामाको जितको खुशी नेपाली फिल्मकर्मीहरुलाई पनि लागेको छ । ओबामाले नेपाल लगायत विश्वका नागरिकहरुलाई समान दृष्टीकोणले हेर्नु नै अर्न्तराष्ट्रिय स्तरमा उनको ख्याती बढ्नुको प्रमुख कारण हो । सायद त्यहि भएर होला विश्वको सर्वाधिक शक्तिशाली देशका प्रमुख ब्यक्तिमा पुनः ओबामा चयन हुँदा हाम्रा फिल्मकर्मी हौसिएका छन् ।
ओबामाका जित निश्चित भएको न्यूज सार्वजनिक हुनासाथ बरिष्ठ अभिनेता हरिबंश आचार्यले ओबामालाई बधाई दिदै फेसबुक फ्यान पेज मार्फत नेपाल लगायत सवै राष्ट्रको हित हुने काम गरुन् भनी शुभकामना दिएका छन् । नेपाली मनोरञ्जन क्षेत्रका सर्वाधिक चर्चित हरिबंश पहिलो नम्बरमा गनिने कलाकार हुन् । त्यसैले हुन सक्छ ओबामाको तस्बिर सहित उनले दिएको शुभकामनालाई सात घण्टाको अवधिमा १ हजार १ सय चार जनाले सेयर समेत गरेका छन् ।
यस्तै निर्देशक दिनेश डिसी पनि ओबामाको जितबाट पूर्ण खुशी छन् । उनले ओबामाको जित निश्चित भएको मत परिणामलाई आफ्नो फेसबुकमा पोष्ट गर्दै आफूलाई किन बाराक ओबामा मन पर्छ भन्ने तर्क पनि दिएका छन् । डिसीले आफ्नो परिवार जस्तै झल्कने स्टाईलको ओबामा फ्यामेली फोटो पोष्ट गरी उनको ब्यक्तित्व तथा बोल्ने शैलीबाट आफू पुरै प्रभावित भएको उल्लेख गरेका छन् । यसैगरी डिसीले पछिल्लो चार बर्षमा ओबामाद्धारा पूरा भएको करिब १० महत्वपूर्ण कार्यलाई आफ्नो स्टाटसमा समेत लेख्न भ्याएका छन् ।
यस्तै बरिष्ठ फिल्मकर्मी राजेन्द्र शलभले पनि ओबामाको जितमा खुशी छन् । ओबामाको जित निश्चित भएका खबरहरु बाहिरन साथ उनले पनि फेसबुक मार्फत ओबामा जित सेयर गरेका छन् । यसैगरी हाल अमेरिकामै रहेका हिरो राजबल्लभ कोईरालाले डिप्लोमेटिक शैलीमा अमेरिकी राष्ट्रपति चुनावको बिषयमा आफ्नो तर्क दिएका छन् । बल्लभले चुनावका कारण दुई प्रतिद्धन्दी ओबामा र मिट रोम्नीको मनमा जे जस्तो विचारहरु आए पनि अन्तत: नतिजा पश्चात यो एउटा जिवनको परिभाषा हुने बताएका छन् ।
यता अर्का हिरो रेश मरहठ्ठाले ओबामाको जित निश्चित अघि नै उनलाई पुरै समर्थन गर्दै आफ्नो स्टाटसमा ओबामा मात्र लेख्दै खुशी ब्यक्त गरेका थिए । उता कोरियोग्राफर टर्न डाईरेक्टर गोविन्द राईले ओबामा जित भन्नु नै सारा गोर्खालीको जीत भनी स्टाटस लेखेका छन् ।