
टेलिभिजनमा काम गर्दाको जस्तो सहजता फिल्म मेकिङमा कहाँ हुन्छ र सायद यहि भएर होला निर्देशक जनकदीप पराजुलीले आफ्नो पेशालाई पुनः यू टर्न गर्दैछन् ।
तराई टेलिभिजनको निर्देशक पेशा छाडी पहिलो पटक प्रोड्यूसर फिल्म निर्देशन गरेका उनले ईन्डक्ल्यापको दिन फिल्मीखरसंगको कुराकानीमा फिल्म निर्देशनको आफ्नो उत्साह सवै घटेको बताए । उनले भने, 'यहाँ कति कुरा पैसा तिरेर पनि पाईदैन रहेछ अनि कति कुरा भएर पनि प्रयोग गर्न पाईदैन रहेछ त्यसैले फिल्म निर्देशनको मेरो सम्पूर्ण उत्साह मरेको छ ।' एक बर्ष अघि सम्म तराई टेलिभिजनमा निर्देशक एवं प्रमुख कार्यकारी निर्माता भएर काम गर्दा उनले जुन किसिमको सफलता पाएका थिए त्यो किसिमको सफलता फिल्ममा नरहेको उनले घुमाउरो तर्क गरेका छन् ।
विभिन्न विज्ञापन निर्माण सहित केही चर्चित टेलिफिल्म समेत निर्देशन गरेर सफलता बटुलेका पराजुलीले सम्भवत प्रोड्यूसर फिल्म आफ्नो फिल्मी करिअरको फष्ट एण्ड लाष्ट फिल्म भनेका छन् । उनी मात्र हैन टेलिभिजनमा पूर्ण सफलता पाएका नवराज आचार्यले पनि एक महिना अघि फिल्मीखबरसंगको एक भेटमा भनेका थिए, 'मेरो पनि यो फष्ट एण्ड लाष्ट फिल्म नै हुन्छ होला ।' अमेरिकी ग्रिन कार्ड होल्डर आचार्यले कलिउड भन्ने फिल्म निर्देशन गरेका छन् जसको रिलिज पश्चात उनी पनि यो पेशाबाट सम्भवत अलग्दिै आफ्नो नयाँ पेशा अमेरिकामै खोज्ने छन् ।
किन यस्तो हुन्छ ?
उत्साह बोकेर आएका नयाँ फिल्मकर्मीलाई यहाँ प्रोत्साहन दिने प्रचलन नहुनु नै फ्रष्टेशनको प्रमुख कारण हो । ५ वटा चर्चित फल्प फिल्मका प्रोड्यूसर एवं कलाकार निर्मल शर्मा (गैडा) को भनाईलाई यहाँ उद्रित गर्ने हो भने यो उद्योगको अवस्था यस्तै रहे अबको ६ महिना भित्र ७० प्रतिशत फिल्मकर्मी बेरोजगार हुने निश्चित छ । उनले फिल्म मेकिङको यो क्षेत्रमा हचुवाको भरमा आएका प्रोड्यूसरहरुलाई व्यङग्य गर्दै फेसबुकमा लेखेका छन्- 'नेपाली फिल्म बजार सरदारको टोलमा हजामको पसल ।'
शर्माले हरेक नयाँ फिल्मकर्मीलाई सरोकारवाला संघसंस्थाहरुले ८ घण्टाको एक दिने क्लाश दिएको खण्डमा मात्र यो क्षेत्रको बजारमा सुधार आउने तर्क गरेका छन् । पछिल्लो समय जति पनि फिल्महरु रिलिज भईरहेका छन् ती फिल्महरुको ब्यापार करिब शुन्य भईरहेकाले फिल्म क्षेत्र अहिले धारासायी बन्दै गईरहेको छ ।