
भर्खरै सम्पन्न चुनावमा भारी मत ल्याउदै नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका नवल खड्काले सो पदमा विजयी हुनासाथ नयाँ कामको थालनी गरेका छन् । केन्द्रकित मात्रै भएर काम गर्दै आएको कलाकार संघमा विकेन्द्रीकरणको कन्सेप्ट ल्याउदै संघको शाखा विभिन्न बिकाश क्षेत्रमा समेत गठन गरिएको छ ।
सुदुरपश्चिम, मध्यपश्चिम र पश्चिमान्चलमा गठन भैसकेको कलाकार संघको तदर्थ समिति पुर्वान्चलमा समेत गठन भएको छ । अध्यक्ष खड्काको उपस्थितिमा धरानमा भएको बैठक मार्फत कलाकार प्रेम सुब्बाको संयोजकत्वमा १३ सदस्य पुर्वान्चल कलाकार संघको तदर्थ समिति गठन गरिएको हो । समितिमा पुष्प श्रेष्ठ, किशोर सम्बाहाम्फे, गोपाल येक्तन, रोम घिमिरे, अरुण प्रधान, श्रीकृष्ण लुइँटेल लगायतका पूर्वेली कलाकारहरु सदस्यको रुपमा रहेको छन् ।
अबको ६ महिना भित्र एक बृहत कार्यक्रमको आयोजना गरेर कार्यसमिति विस्तार गरिने निर्णय समेत बैठकबाट भएको छ । केन्द्रमा मात्रै संघ हुँदा मोफसलमा रहेका कलाकारको समस्या र आवाज केन्द्रमा पुग्न गार्हो हुने भएकोले यो अवधारणा ल्याईएको अध्यक्ष खड्काले बताए । पूर्वेली कलाकारका समस्या र चुनौतीलाई केन्द्र सम्म लग्न संघको गठन संगै सजिलो भएको संयोजक प्रेम सुब्बाले जानकारी दिए ।