
अचानक चलचित्र संघको महासचिव पदमा नरहने निर्णय गर्दै राजिनामा दिएका प्रदीप उदयको यो निर्णयले विभिन्न सम्भावनाहरु देखाएका छन् । दुई महिना अघि फिल्मीखबरसंगको एक प्रतिक्रियामा उनले भनेका थिए, 'यदि मलाई विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरिएको खण्डमा म यो पदबाट राजिनामा दिने छु ।'
विकास बोर्ड अध्यक्ष बन्न रेखा थापाले जसरी सार्वजनिक रुपमा उच्च स्तरको राजनीतिक लविङ गरेकी थिईन् उदयले पनि सोही उच्च स्तरको गोप्य राजनीतिक लविङ गरेका थिए जसकारण कतै यो राजिनामा प्रकरण उनी बोर्ड अध्यक्ष हुने प्रक्रियाको अन्तिम कडि त हैन भन्ने अनुमान काट्न सकिन्छ । यस्तै चलचित्र संघ अध्यक्ष राजकुमार पोखरेलको निर्णय भन्दा महासचिव उदयको निर्णय र 'रिमोट कन्ट्रोलिङ' मा चल्दा यी दुईको सम्बन्धमा फाटो आएको हुन सक्ने कारणले पनि उदयले राजिनामा दिएको हुनसक्ने अर्को अनुमान गरिएको छ ।
विवादमा आउन नचाहने गरी संघका एक सदस्यले भने, 'अध्यक्ष ज्यूको कार्यभार प्रदीप जीले आफू मात्र कति बोक्ने भन्दै संघको महासचिव पदबाट राजिनामा दिएको हुनुपर्छ ।' पूर्वाञ्चल विर्तामोड निवासी अध्यक्ष राजकुमार पोखरेल केन्द्रिय स्तरको अध्यक्ष भए पनि उनको बसाई उतै हुने गरेकाले संघको गतिबिधी न्यून छ । तर आफूहरुको सम्बन्ध विग्रिएको कुरालाई भने उदय र पोखरेलले गलत भनेका छन् । 'उहाँले किन राजिनामा दिनु भो त्यो थाहा छैन त्यसैले सम्भवत यो तिहार अघि वा तिहार सकिए लगत्तै एउटा बैठक राखेर उदयजीलाई राजिनामा फिर्ता लिन आग्रह गर्छौ', राजकुमारले प्रतिक्रिया दिए ।
खुट्टा भाँचिएका कारण राजकुमार केही महिना देखि बेड रेष्टमा छन् तसर्थ उनको उपस्थिती नहुँदा संघको केन्द्रिय स्तरको बैठक बस्न सकेको छैन । यता प्रदीप उदयले चाहि राजधानीका हल सञ्चालकहरुको कारण जनाउदै आफूले राजिनामा दिएको तर्क गरेका छन् । आफू निर्मित मालतीको भट्टी प्रदर्शन समयमा राजधानीका हल सञ्चालकहरुले उच्च स्तरको प्रोजेक्टर लगायतका प्रदर्शन क्वालिटी दिन नसक्दा उनी तनावमा थिए । जुन तनाव मायाज बार रिलिज हुँदा सुनिल मानन्धरको टाउकोमा थपिएपछि मानन्धरसंगको सहकार्यमा उदयले हल परिवर्तन गर्ने एक किसिमको आन्दोलन रणनीति तय गरेका थिए ।
तसर्थ, यो राजिनामा प्रकरण यिनै सम्भावना र तर्क विच रोमलिएको छ । उनले आउदो १९ गते आईतबारका दिन देखि लागु हुने गरी राजिनामा पत्र बुझाएका हुन् ।