
यहि शुक्रबारबाट देशभरका करिब ५० हल मार्फत रिलिज हुने क्रममा रहेको फिल्म 'आई एम इन लभ' लाई निर्माण टोलिले त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताउँदै आएको छ । तर फिल्मको प्रोमोमा फिल्मका मुख्य दुई कलाकार बाबु बोगटी र अनु शाह लाई मात्रै हाईलाइट गरेर पब्लिसिटी गरिएको छ । अब त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा अर्को पात्र को होला त ? निर्माण युनिटले यो कुरालाई अहिलेसम्म सस्पेन्स नै राखेको छ ।
फिल्म आई एम इन लभमा बाबु र अनुका अलावा दुई चलेकै कलाकार छन् ति मध्ये एक जना मुख्य भुमिकामा छन् भने अर्को बिशेष भुमिकामा छन् जुन कुरालाई फिल्म निर्माण टोलिले गुपचुप राखेको छ । 'एक नायकको केमियो रोल मात्रै रहे पनि अर्का नायकको फिल्ममा मुख्य रोल रहेको छ जुन सस्पेन्स फिल्म रिलिज पछि आफै खोलिने छ', निर्देशक सचिनराज अमात्यले बताए । दुवै नायक चलेको अनुहार भएकोले फिल्म हेरिरहँदा दर्शकले पर्दामा ति नायक देख्दा छक्क पर्ने उनको दाबी छ ।
एक नायकको प्रवेश संगसंगै फिल्मको कथाले पनि बेग्लै ट्विस्ट लिने अमात्यले जानकारी गराए । फिल्मका दुई अन्य नायकको बारे थाहा पाउन १७ गते पछि हलमै गएर फिल्म हेर्न उनको आग्रह थियो । निर्देशकको रुपमा अमात्यले डेब्यु गरेको आई एम इन लभलाई बिष्णु बस्नेतले निर्माण गरेका हुन् । फिल्ममा सुगम पोख्रेल र बाबु बोगटीको संगीत रहेको छ ।