
करियोग्राफीमा आफ्नो छुट्टै पहिचान बनाएकी रेनाशा राईले फिल्म 'कलिउड' को एक आईटम गीतलाई अहिले सम्मकै आफ्नो करियरको उत्कृष्ट गीत बनाउने तयारीमा छिन् । फिल्मका अन्य दुई गीतको समेत करियोग्राफी गरेकी रेनाशाले नायिका प्रियंका कार्कीलाई सो गीतमा नचाउने छिन् ।
मेरो नाम काली काली बोलको गीतमा प्रियंकालाई नचाउने तयारी गरेकी रेनाशाले फिल्मीखबरसँग कुरा गर्दै भनिन्, 'प्रदिप बाँस्तोला जीले फास्ट बिटमा कम्पोज गर्नु भएको छ त्यसैले यो गीतमा प्रियंकालाई नचाउन गार्हो मात्र हैन मलाई नै कम्पोज गर्न निकै च्यालेञ्जिङ छ । तर मैले निकै मेहनत गरेर यो गीतलाई अहिले सम्मकै उत्कृष्ट आइटम गीत बनाउँछु ।' प्रियंकालाई रेनाशाले चितवनको थारू गाउँमा २४ जना प्रोफेस्नल डान्सरको बिचमा डान्स गराउने छिन् ।
'अलि नयाँ गरौं भनेर चितवनको थारू गाउँमा लोकेशन रोजिएको हो', रेनाशाले भनिन्, 'लोकेशन हन्टका लागि हामी भोली चितवन जाँदै छौं ।' प्रियंका राम्रो डान्स गर्न सक्ने भए पनि गीत फास्ट बिटमा रहेकाले केहि गार्हो हुने भन्दै एक साता ट्रेलिङ दिएर मात्र सुटिङ गर्ने रेनशाको भनाई छ । उनी भन्छिन्, 'मैले यसअघिका गीतमा पनि ट्रेनिङ दिएर मात्र डान्स गराउँदै आएकी थिएँ यसपालीको गीतमा त झन् ट्रेनिङ गर्नै पर्ने हुन्छ ।' प्रियंका आजबाट ट्रेनिङमा सहभागी हुँदैछिन् ।
दशैंका लागि भनेर सुटिङ ब्रेक गरिएको नवराज आचार्यको डेब्यू निर्देशन रहेको फिल्म 'कलिउड' को हिजो पूर्णिमाको दिन एक गीतको सुटिङ गरिएकाले आज ब्रेक गरिएको छ । नेपाली फिल्ममा प्रवेशका लागि हिरोईनहरुको संघर्षको कथा बोकेको फिल्म 'कलिउड' मा आर्यन सिग्देल, प्रियंका कार्की, बिष्णु कार्की र पायल थापाको मुख्य भुमिका रहेको छ । प्रिजोन इन्टरटेन्मेन्टको व्यानरमा टंक कार्की निर्माता रहेको सो फिल्ममा निर्देशक आचार्यकै कथा, पटकथा अनुप सापकोटा र प्रदिप बाँस्तोला तथा संवाद ब्रजेश खनाल र अनुप सापकोटाको रहेको छ । हरि हुमागाईंको छायाँकन रहेको सो फिल्ममा प्रदिप बाँस्तोलाको संगीत रहेको छ ।