
केहि साता अगाडी मात्र रिलिज भएको फिल्म भिसा गर्लकी मुख्य पात्र नायिका ऋचा शर्मा केहि दिनमा माओवादीको कमाण्डर बन्दै छिन् । कमाण्डर बन्नका लागि उनले आवश्यक पर्ने तालिम समेत लिईसकेकी छिन् ।
नोभेम्बर १ अर्थात यहि कार्तिक १६ गतेबाट छिरिङ रितार शेर्पाले निर्देशन शुरू गर्न लागेको फिल्म 'उमा' को शिर्ष भुमिकामा प्रस्तुत हुन लागेकी ऋचा 'कमाण्डर उमा' बन्न लागेकी हुन् । 'सुटिङका लागि अब हामी पूर्णरूपमा तयार भईसकेका छौं', फिल्मको वर्कशप सकेर भोली सुटिङका लागि काभ्रे जाने तयारी गरेकी ऋचाले भनिन्,'मैले बन्दुक समात्न, सुट गर्न र किक बक्सिङ जस्ता केहि आधारभूत तालिम लिईसकेकी छु ।'
ऋचालाई बन्दुकको तालिम र माओवादी कमाण्डरका केहि भाषा शैली सिक्नका लागि माओवादीकै एक महिला कमाण्डरले सहयोग गरिन् । 'फिल्मको कथा मेरो वरिपरी घुमेकाले पनि मैले अलि बढि मेहनत गर्नु पर्ने हुन्छ । तर म अब कमाण्डर उमा बन्न तयार भएकी छु', फिल्मको बिषयमा बोल्दै ऋचाले भनिन्, 'दश बर्षे जनयुद्धको एक अंश अर्न्तगतको एउटा प्रहरी दाजु र माओवादी बहिनी बिचको द्धन्दात्मक कथा हो ।' मेलो ड्रामा फिल्म भएकाले दर्शकले निकै रूचाउने उनको भनाई छ ।
ऋचासंगै फिल्ममा हाकु काले सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा रहने छ । काभ्रेको खोपासी गाउँ र सँगैको जंगलमा २२ दिनको सेड्यूलमा उमाको सुटिङ गरिने भएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् । फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको म्यूजिक रहने छ । मिला प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्मको प्रोड्यूसर स्वयम निर्देशक शेर्पा हुन् ।