
नेपाली फिल्मको व्यापारका लागि चाडपर्व राम्रो अवसर मानिन्छ । चाडपर्वको मौका छोपेर फिल्मकर्मीहरू आफ्नो फिल्म लगाउन तछाडमछाड गर्छन् । अझ लमो बिदा पर्ने दशैं, तिहार जस्ता चाडमा त निर्माता तथा वितरकहरूको ठूलै घम्साघम्सी हुने गर्दछ । तर यसपालीको दशैंमा फिल्म रिलिज गरेर ठुलै दाउ खाने सोचमा रहेका निर्माताको खल्ती तातो हुन सकेन ।
दशैंको अवसर पारेर कार्तिक ३ गते रिलिज भएका चार फिल्म सो सिम्पल, के म तिम्रो साथी बन्न सक्छु, धुवाँ यो नशा र लुट कम्पनीले पैसा लुट्न सकेनन् । यानकी व्यापारिक हिसाबले यि चार वटै फिल्म फ्ल्प भए । कार्तिक ३ गते राजधानीमा लुट कम्पनी र के म तिम्रो साथी बन्न सक्छु रिलिज भएका थिए भने राजधानी बाहिर सो सिम्पल, के म तिम्रो साथी बन्न सक्छु,र धुवाँ यो नशा रिलिज भएका थिए । यि चार फिल्म न राजधानीमा सफल भने न राजधानी बाहिर ।
टिकाको अघिल्लो दिनसम्म दर्शकहरू दशैंकै रमझममा व्यस्त रहेकाले टिका पछि व्यापार राम्रो हुने आश हल सञ्चालक तथा वितरक र निर्माताहरूले लिएका थिए तर व्यापार झन् खस्किंदै गएपछि अहिले फिल्मकर्मीहरू माझ फिल्म नचल्नुका कारणहरूका बारेमा नै तातो बहस बन्न थालेको छ । अन्य समयमा फिल्म नचलेको अवस्थामा दशैंको समयमा केहि राहत हुने आशा समेत निरासामा परिणत भए पछि फिल्म उद्योग असफलताको बाटो तर्फ अग्रसर भएको हल संचालकको ठम्याई छ । यो वर्षको दशैंमा फिल्मले गरेको कलेक्सन अहिले सम्मको सबभन्दा कमजोर रहेको बताईएको छ ।