
चलचित्र पत्रकार संघको पाँचौं शाखा सर्लाही-महोत्तरीले सर्लाही महोत्तरीमा जन्मेर पत्रकारिता तथा कलाकारितामा राष्ट्रिय स्तरमा योगदान पुर्याएकाहरूलाई विजया दशमीको अवसरमा सर्लाहीको हरिवनमा भब्य कार्यक्रम गरि सम्मानित गरेको छ ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ सर्लाहीका पुर्व अध्यक्षहरु चुडामणी वाग्ले, वेनी बहादुर कार्की, शंकर श्रेष्ठ, कृष्ण एस्माली तथा काठमाण्डौमा रही चलचित्र पत्रकारिता गरिरहेका हरिवन-२ निवासी नरेश भट्टराईलाई सम्मानित गर्यो । यस्तै हाँस्यकलाकार शिवशंकर रिजाल, कलाकार सुभाष गजुरेल, नागेन्द्र रिजाल, निर्देशक श्याम भट्टराई, विजय विक्रम बस्नेत, नायिका मुना कार्की, गायक कमल खत्री, हेमन्त मोत्तान, पूर्ण परियार, संजिव आले, नृत्य निर्देशक दिनेश पाख्रिनलाई कलाकारिताको क्षेत्रमा कलाको माध्यमबाट पुर्याएको योगदानको सम्मान गदै कदर-पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शाखाले घोषण गरेको 'शाखा चलचित्र पत्रकारिता पुरस्कार २०६९' संघका सदस्य मनिष कार्कीलाई नगद पाँच हजार एक रुपैँया, कार्वन मोवाइल सहित प्रमाण पत्र शाखा अध्यक्ष चन्द्र राई, प्रमूख अतिथि महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपाने, विशिष्ट अतिथि पूर्व गृह राज्य मन्त्री रिजवान अन्सारीले प्रदान गरे । कार्यक्रममा संघका केन्द्रिय कोषाध्यक्ष सुमन दाहाल, चलचित्र निर्माता माधव वाग्ले तथा स्थानिय पत्रकार, ब्यापारी, राजनितिक दलका प्रतिनिधि तथा हजारौं दर्शकको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एक जमानाका चर्चित खलनायक तर दुर्घटनामा परि हाल अपाङगता जस्तै भएका कलाकार पवन मैनालीलाई नगद सहित विशेष सम्मान गरिने भनिए पनि मैनाली उपचारका लागि भारतमा गएका कारण गर्न नसकिएको अध्यक्ष राईले बताए ।