
नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैं शुरू भएको आज सातौं दिन । सपिङ, आफन्त भेटघाट, जुवातास, गाउँघर जाने मेसोमेलो यि यस्तै रमझममा नेपालीहरूले दशैं सेलिब्रेट गरिरहेका छन् । यहि मेसोमा नेपाली फिल्मकर्मीहरूले पनि दशैंलाई आ-आफ्नै तरिकाले सेलिब्रेट गरिरहेका छन् । दशैंको सेरोफेरोलाई मध्यनजर गर्दै फिल्मीखबरले केहि सेलिब्रेटीलाई दशैं प्लानका बारेमा नजिकबाट बुझ्ने कोसिस गरेको छ । तल उल्लेखित कलाकर्मीको दशैं योजना यस्तो छ -
आकाश अधिकारी (अभिनेता/ निर्देशक)
हरेक बर्ष झैं यसपाली पनि दशैं मनाउन नवलपरासी आएको छु । नवलपरासीमा भएको दशैं बिशेष कार्यक्रममा सहभागी भएँ रमाईलो पनि भयो । यसपाली म टिकाको पर्सी पल्ट पुर्ख्यौली गाउँ लमजुङ जाँदै छु । त्यहाँ रहनुभएका बृद्ध हजुरबुवा हजुरआमाहरूलाई जम्मा पारेर बिशेष कार्यक्रम गर्ने योजना बनाएको छु । जुवातासमा रूची छैन त्यसैले खासै खर्च गर्ने योजना पनि छैन । तर पनि महँगी भएकाले यो दशैंमा ४० देखि ५० हजार खर्च हुने अनुमान लगाएको छु ।
प्रियंका कार्की (नायिका)
७ बर्ष पछि म पुर्ख्यौली गाउँ धरान हिजो मात्र आएकी छु । धेरै बर्ष पछि हजुरआमाको हातको टिका र आसिर्वाद लिन पाउँदा निकै खुसी छु । आफन्तहरूसँग भेटघाटम अनै यसपालीको दशैं बिदा बित्नेछ । धेरै बर्ष पछि गाउँ पुग्दा धेरै परिवर्तन भएको रहेछ । गाउँमा त बिधुत चोरेर बाल्दा रहेछन् अचम्म लाग्यो । अनि हरेकको घरमा एन्टेना ठडिएको रहेछ । आफ्नो गाउँ विकसित भएको देख्दा रमाईलो लाग्यो । आफन्तहरूसँगको भेटघाटमा व्यस्त रहने हुँदा यसपाली जुवातास खेल्दिन त्यसैले खर्च पनि खासै हुँदैन । सामान्य खर्चमा नै दशैं मनाउँछु । टिकाको भोली पल्ट काठमाण्डौ फर्कन्छु र पूर्णिमाको भोली पल्टबाट कलिउड फिल्मको बाँकी सुटिङमा व्यस्त हुन्छु ।
दिलिप रायमाझी (नायक)
हिजो मात्र पूर्वका बिभिन्न स्थान घुमेर आएँ । श्रीमती लण्डनमा रहेकाले यसपालीको दशैं केही खल्लो महसुस भईरहेको छ । तर पनि बाल्यकालका साथिभाई भेटघाट र जुवातास खेलेर दशैं सेलिब्रेट गरिन्छ । जुवा खेले पनि सामान्य हिसाबले खेलिन्छ त्यसैले खासै खर्च गर्ने योजना छैन । घर खर्च बुवाले नै गर्नु हुन्छ त्यसैले यसपालीको दशैंमा ८ देखि १० हजार खर्च होला ।
केकी अधिकारी (नायिका)
सुनसान काठमाण्डौको नरमाईलो वातावरणमा आफन्त तथा साथीभाईसँग बसेर दशैं मनाउने छु । जुवातास मज्जाले खेल्ने योजना छ । सपिङ पनि मज्जाले गरें । दशैंमा आफ्नो लागि र घरको लागि १० हजार खर्च छुट्ट्याएकी छु । तासमा जित्ने भएकाले खर्च छुट्याएकी छैन । म प्राय तासमा जित्छु त्यसैले यसपालीको दशैं खर्च तासबाट नै उठाउँछु नपुगे मामाघर गईन्छ अनि दक्षिणा पाइैन्छ रिकभर भईहाल्छ ।
मुकेश ढकाल (नायक)
खसी काट्ने, साथीभाई भेटघाट, जुवातास र आफन्त भेटघाटमा नै दशैं मनाईने छ । जुवातासका लागि अहिलेसम्म ग्रुप पाएको छैन ग्रुप बन्ने बित्तिकै म्यारिज खेल्न बसिन्छ । प्राय जुवामा हार्ने गर्छु तर यसपाली जित्छु भन्ने आश छ । अहिलेसम्म ३० हजार जति खर्च भईसक्यो अब ४० हजार छुट्याएको छु । जुवामा हारियो र पुगेन भने ऋण खोजेर भए पनि तास त खेलिन्छ ।
बिनिता बराल (नायिका)
यसपालीको दशैं निकै रमाईलो होला जस्तो छ । सौराहमा लठ्ठे पिङ खुब खेलिंदै छ । भोली नवलपरासीमा दशैं बिशेष कार्यक्रम छ त्यसको सञ्चालन मैले गर्दैछु । घरमा नवदुर्गाको पुजा हुने गर्दछ त्यसैले पुजाआज र भजनकिर्तनमा खुब रमाईलो गरिन्छ । जुवा खेल्ने साथी पाएको छैन त्यसैले जुवा खेल्दिन होला यसपाली । दशैं खर्च भनेर २० हजार खर्च भईसक्यो अब १० हजार सम्म खर्च हुन्छ होला तर टिका लगाएर दक्षिणा पाइन्छ त्यसैले खर्च उठाए हाल्छु ।
प्रचण्डमान श्रेष्ठ (निर्देशक)
दशैंको बिशेष योजना केहि छैन । हिजो तासमा ५ हजार हारें त्यसैले अब खेल्ने मुड पनि छैन । १२ वटा नयाँ फिल्म डाउनलोड गरेको छु । १६ वटा सम्म फिल्म हेर्ने योजनामा छु र नयाँ फिल्मको स्क्रिप्ट पनि लेख्दै छु । बाल्यकालको एक जना मिल्ने साथीले दुर्घटनामा ज्यान गुमाएकाले यो दशैं निकै नरमाईलो पनि भएको छ । त्यसैले घरमा नै फिल्म हेरेर र स्क्रिप्ट लेखेर बस्छु । दशैंको लागी भनेर खासै बजेट छुट्याएको छैन ।
ध्रुब दत्त (नायक)
नेपाललाई मिस गरिरहेको छु । आज दशैंको लागि भन्ने छुट्टि लिएँ अब टिकाको दिन छुट्टि लिन्छु । साथीभाई तथा आफन्त भेटघाट र खानपिन गरेर दशैं मनाउँदै छु । लण्डनका बिभिन्न स्थानमा दशैं कार्यक्रम हुँदैछन् त्यहाँ पनि सहभागी भएर दशैं मनाउँछु । जुवातासमा खासै रूची छैन त्यसैले खर्च पनि धेरै छुट्ट्याएको छैन । लुगाफाटो र खानपिनका लागि भनेर ५० हजार जति खर्च गर्छु होला ।