
गोसाईकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको फिल्म 'चन्द्रावती' मंसिर ८ गते हेर्न पाईने भएको छ । फिल्मको पब्लिसिटीलाई व्यापकता दिंदै गरेका निर्माता बुलुनले लामो समयको पर्खाई पछि फिल्मको रिलिज डेट घोषणा गरेका हुन् ।
राजु गिरीले निर्देशन गरेको यो फिल्ममा राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, रेजिना उप्रेती, शशी खड्का, कुशल थापा एलिजा रिजाल लगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द र शिव शर्माले नृत्य निर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।
यो फिल्म नायिका शशी खड्का र नायक आयुष रिजाल बिचको सेक्स सिनका कारण चर्चामा आएको छ । यसै बिषयलाई लिएर केहि महिना अगाडी निर्देशक गिरी र नायिका खड्का विच ठूलै विवाद पनि भएको थियो । फिल्ममा सेक्स सिनलाई हाईलाईट गरेको भन्दै नायिका खड्काले निर्माण युनिट बिरूद्ध उजुरी समेत हालेको बताईएको थियो । तर, अहिले निर्माण युनिट नायिका खड्कासँग सम्बन्ध सुमधुर बनाउन चाहन्छ ।
निर्देशक गिरीले फिल्मीखबरसँगको भेटमा भने, 'उहाँसँगको विवादलाई हामी अब लम्ब्याउन चाहन्नौं । त्यसैले अगाडीका कुरालाई बिर्सेर शशी जीले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने बिश्वास लिएका छौं । फिल्म नायिका खड्काको पनि भएकाले बिगतका कुरालाई बिर्सेर समझदारीमा आईदिन निर्माण युनिटले आग्रह गरेको छ । आशा गरौं कि नायिका र निर्माण युनिट बिचको दुरी अब छोटिने छ ।