
गत शनिबार नवल खड्काको नेतृत्वमा गठन भएको चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । निर्वाचन प्रक्रियाबाट सत्र सदस्य चयन भए लगत्तै विधान अनुरुप थप तीन सदस्यका लागि र तृतीय उपाध्यक्षका लागि यो कार्यसमितिमा मनोनित गर्दै नियुक्त गरिएको छ ।
मनोनित अर्न्तगतबाट तृतीय उपाध्यक्षमा नियुक्त हुनेमा सानुकुमार ताम्राकार छन् भने अन्य तीन सदस्यमा सम्पन्न श्रेष्ठ (बाबा), पर्शुराम चौधरी र हिरो सुवास मेचेलाई नियुक्त गर्दै कार्यसमिति संख्या २१ पुर्याईएको हो । यस्तै सो कार्यसमितिको पहिलो बैठकले ६ जना पूर्व अध्यक्ष र एक पूर्व उपाध्यक्ष सहितको सल्लाहकार समिति बनाएको छ । सल्लाहकार समितिमा पूर्व उपाध्यक्ष लय संग्रौला सहित नीर शाह, हरिहर शर्मा, बसुन्धरा भुषाल, शिव श्रेष्ठ, कृष्ण मल्ल र रबिन्द्र खड्का रहेका छन् । यसैगरी सो बैठकले संघको संरक्षकमा नेपालको पहिलो हिरोईन भुवन चन्दलाई नियुक्त गरेको छ ।
बैठकले चार विकास क्षेत्रमा संघको शाखा विस्तारका लागि तदर्थ समिति पनि गठन गरेको छ । अध्यक्ष नवल खड्काका अनुसार पूर्वाञ्चल शाखा विस्तारका लागि प्रेम सुब्बाको संयोजकत्वमा सात सदस्य तदर्थ समिति गठन गरिएको छ भने पश्मिाञ्चलमा हालैको कार्यसमिति सदस्यमा विजयी भएका मनोज श्रेष्ठको संयोजक्त्वमा ५ सदस्य साथै सुदुर पश्चिामाञ्चलमा मान बहादुर कुवँरको संयोजकत्वमा पाँच सदस्य र मध्यपश्मिाञ्चलमा कुलमान बुढाको संयोजक्त्वमा ३ सदस्य रहने गरी तदर्थ समिति गठन गर्ने निर्णय भएको हो ।
यस्तै कार्यसमितिको पहिलो बैठकले कलाकारहरुको ब्यक्तित्व विकासका लागि आउदो मंसिर महिनामा एक भब्य कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । नयाँ कार्यसमितिले हरेक महिनाको २ गते अनिवार्य रुपमा कार्यसमिति बैठक बस्ने निर्णय पनि गरेको छ ।