
लुट जस्तो सुपरहिट फिल्म निर्माण गरेका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको पछिल्लो फिल्म 'छड्के' को फस्टलुक रिलिज गरिएको छ । बुधबार बिहान राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी प्रोमो र पोस्टरको फस्ट लुक सार्वजनिक गरिएको हो ।
फेब्रुअरी महिनाको पहिलो साता रिलिज गर्ने योजना बनाईएको ग्याङस्टार फिल्म 'छड्के' लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । यसै फिल्मबाट निर्देशकको परिचय बनाउन लागेका श्रेष्ठले नै फिल्मको कथा लेखेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले फिल्मको पोस्ट-प्रोडक्सनको काम भईरहेको बताए । उनले आफ्नो तर्फबाट सक्दो मेहनत गरेर नयाँ स्वादको फिल्म दिने कोसिस गरेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै निर्माता माधव वाग्लेले छड्के नेपाली पन, नेपाली मन र समसामायिक कथामा बनेको फिल्म भएको बताए । अर्का निर्माता नरेन्द्र महर्जनले ओरालो लागेको फिल्म उधोगमा छड्के नयाँ रूपमा प्रस्तुत भएर आउने बताए । उनले आफ्नो फिल्मलाई दर्शकले रूचाउने बिश्वास व्यक्त गरे । फिल्ममा डनको भुमिका निर्वाह गरेकी नायिका नम्रता श्रेष्ठले यो फिल्म आफ्नो करियरको पहिलो एक्सन थ्रील भएकाले निकै एक्साईटेड भएको बताईन् । फिल्ममा आफूलाई दर्शकले भिन्न रूपमा पाउने उनको भनाई थियो ।
संगीत दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका रबिन एन्ड द न्यु रिभोल्युसन ब्यान्डका रबिन तामाङ यो फिल्मबाट कलाकारको रूपमा डेब्यू गरेका छन् । आफ्नो पहिलो फिल्म भएकाले निकै उत्साहित भएको रबिनले पत्रकार भेटघाट कार्यक्रममा बताए । फिल्ममा सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई, सुनिल पोखरेल, प्रतिक राज न्यौपानेको पनि मुख्य भुमिका रहेको छ ।
Click Here for Promo : http://www.youtube.com/watch?v=t56lmvQPk5Y
प्रिन्सेस मुभिज र रस ताण्डवको प्रस्तुती रहेको छड्केको छायाँकन संजय लामाले गरेका हुन् भने संगीत नाईट ब्याण्ड, सम्पादन लोकेश बज्राचार्य र दीर्घ खड्काको रहेको छ । यस्तै फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन हेर्न सकिनेछ । फिल्मका पब्लिसिटी डिजाईनर आनन्द महर्जन हुन् ।