
अध्यक्ष पदमा अत्याधिक मत ल्याउदै विजयी भएका नवल खड्कलाई कलाकार संघको नेतृत्व हस्तान्तरण गरिएको छ । आज साँझ एक भब्य कार्यक्रम गरी रमेश बुढाथोकीले नवललाई संघको नेतृत्व हस्तानतरण गरेका हुन् ।
नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा सहित फिल्म नगरीका करिब २ सय ब्यक्तिहरुमाँझ नवलको नयाँ कार्यसमितलाई सपथ ग्रहण सहित नेतृत्व हस्तान्तरण गरिएको हो । '६ बर्षसम्म यो कुर्सीमा रहेकाले आज छोड्नु पर्दा अलिअलि दुःख पनि लागेको छ र खुशी पनि', नेतृत्व हस्तानतरण पश्चात बोल्दै बुढाथोकीले भने । यस्तै बुढाथोकीले आफू परिवार विहिन हुँदाको अवस्थामा विश्वास गरेर सर्वसम्मतले दिईएको कलाकार संघको नेतृत्वले कहिलै एक्लोपनको महसुस हुन नदिएको बताए ।
६ बर्षसम्म दिईएको सर्वसम्मतको विश्वास जीवनको सवैभन्दा ठूलो उपलब्धी भएको पनि बुढाथोकीले बताए । छोरी र अभिनेत्री समेत रहेकी श्रीमती विना बुढाथोकी लामो समय देखि नेपाल बाहिर रहेकाले उनको पारिवारिक जीवन त्यति सन्तोषपूर्ण छैन । बुढाथोकीलाई चाँदीद्धारा निर्मित प्रेसिडेन्टिल चेन लगाएर सम्मान गरिएको थियो भने केही मिनेट पश्चात उनलाई पहिराईएको उक्त चेन नवनियुक्त अध्यक्ष नवललाई नै लगाउदै नेतृत्व हस्तान्तरण गरिएको थियो ।
सपथ ग्रहण पश्चात नवनियुक्त अध्यक्ष नवल खड्काले चुनावी मैदानमा आउँदा ल्याएको पन्ध्र बुँदे प्रतिबद्धता पत्रलाई आफ्नो कार्यकालमा पुरा गर्ने बताए । विशेषत उनले एक बर्ष भित्र हरेक कलाकारहरुको विमा गर्ने योजनालाई पूर्ण रुपमा सफल बनाउने एवं कलाकारहरुको सेवाका लागि एम्बुलेन्स ब्यवस्था गर्ने बताए । यस्तै उनले आफ्नो कार्यकालको पहिलो बर्ष भित्र कलाकारहरुले फिल्म निर्माण कम्पनीबाट रकम नपाउने गरेको समस्यलाई सेन्सर सिप अवजेक्सन नियम मार्फत हटाउने प्रतिबद्धता जनाए ।
नेतृत्व हस्तान्तरण कार्यक्रममा रमेश बुढाथोकीको कार्यसमितिमा रहेका सदस्यहरुलाई सम्झनाको चिनो सहित विदाई गरिएको थियो ।