
नयाँ नेतृत्व आउने केही घण्टा पूर्व रमेश बुढाथोकीको नेतृत्वमा रहेको चलचित्र कालकार संघले ११ औँ साधारणसभाको अवसर पारेर केही फिल्मकर्मीहरुलाई सम्मान गरेको छ ।
काँग्रेस नेता शेरबहादुर देउवाको बाहुलीबाट सम्मानित एवं पुरस्कृत हुनेहरुमा २०६८ तथा ०६९ सालको नेपाल चलचित्र कालकार संघ पुरस्कारबाट बरिष्ठ कलाकारद्धय रबिन्द्र खड्का र शर्मिला मल्ल छन् । यो पुरस्कारको राशि रू ५१ हजार छ । यसैगरी नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार २०६८ बाट रुदराज पाण्डे र २०६९ बाट मदनदास श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रू १५ हजार छ ।
त्यसैगरी नेपाल चलचित्र कलाकार संघ चलचित्रकर्मी सेवा सम्मान २०६९ बाट बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा र प्रोड्यूसर उद्धव पौडेल सम्मानित भए । सम्मानित हुने अर्का ब्यक्ति लय संग्रौला पनि रहेका छन् । उनलाई चलचित्र कलाकार संघ सेवा सम्मान २०६९ बाट सम्मान प्रदान गरिएको हो ।
यसैगरी सम्मानित हुनेहरुको अर्को लिष्टमा चलचित्र कलाकार संघ पत्रकारिता सम्मानबाट संचारकर्मीत्रय दयाराम पाण्डे, राजन घिमिरे र यम चौलागाई रहेका छन् । कलाकार संघको विभिन्न कार्यक्रममा अतुलनीय सेवा पुर्याए वापत जेसिआई सिनेटर महेश दाहाललाई पनि उक्त साधरणसभामा सम्मानित गरियो ।





