
दसैंको अवसर पारेर अर्को आउँदो शुक्रबार उपत्यका बाहिरका हल मार्फत रिलिज हुन लागेको फिल्म 'सो सिम्पल' को आज दमकमा प्रथम प्रदर्शनी गरिएको छ । स्थानीय दमक एकता क्लब र गोर्खा स्पोर्टिंग क्लबले संयुक्त रुपमा आयोजना गरेको च्यारिटी शो संगै फिल्मको प्रथम प्रदर्शन गरिएको हो ।
दमकको निलकण्ठ चलचित्र मन्दिरमा आयोजना गरिएको च्यारिटी शो हेर्न उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहेको थियो । दर्शक संगै फिल्म हेर्न र पहिलो प्रतिक्रिया लिन फिल्मको टोलि समेत दमक आएको थियो । फिल्मका निर्माता केशव भट्टराई, निर्देशक शिव रेग्मी, यसै फिल्म मार्फत रजतपटमा डेब्यु गरेका नायक प्रमोद भारद्वाज, नायिका भावना रेग्मी र प्रोडक्सन म्यानेजर गणेश सापकोटाको टोलिले दर्शकसंगै बसेर फिल्म हेरेका थिए ।
फिल्म प्रदर्शन भैरहँदा प्रत्येक दृश्यमा दर्शकले दिईरहेको प्रतिक्रियाले उत्साहित बनेको टोलि फिल्म प्रदर्शन पश्चात पाएको सकारात्मक प्रतिक्रियाले झनै हर्षित भएको थियो । आफुले दिएको परिक्षाको पहिलो नतिजा दमकबाट आएको बताउदै आफु त्यसमा पास भएको प्रतिक्रिया निर्देशक शिव रेग्मीले दिए । रिलिज पुर्व फिल्मको नतिजा कस्तो आउने हो भनेर आफु निक्कै चिन्तित रहेको बताउदै निर्माता भट्टराईले फिल्म हेर्ने पहिलो दर्शकले दिएको प्रतिक्रियाबाट आफ्नो सम्पूर्ण डर हटेको बताए ।
त्यस्तै डेब्यु फिल्मबाट नै अभिनयमा दर्शकको उत्साहजनक प्रतिक्रिया सुने पछि प्रमोद र भावनाको मुहार हर्षले भरिएको थियो । त्यसो त फिल्मको पहिलो हाफमा राखिएको कमेडी दृश्यहरुमा दर्शकले भरपुर रमाइलो लिएका थिए भने मध्यअन्तर पश्चात फिल्म सस्पेन्स बन्दै जादा अन्तिम समय सम्म कौतुहल भएर फिल्म हेरेका थिए । दमकबाटै फिल्म हेर्न आएका दर्शकले निर्देशक रेग्मीलाई 'हामी तीन भाई' पछि यति राम्रो फिल्म बनाएकोमा बधाई समेत दिएका थिए ।
आजै स्थानीय संचारमाध्यममा अन्तर्वार्ता दिन ब्यस्त भएको यो टोलि भोलि काठमाडौँ फर्कने छ । कार्तिक ३ मा फिल्म पुर्वका आधा दर्जन बढी हल मार्फत रिलिज हुने बताइएको छ ।