
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'भिसा गर्ल' ले सोचे अनुसारको व्यापार गर्न सकेन जसले गर्दा पुन: एक पटक फिल्म उधोग स्तब्ध बनेको छ । लगातार रूपमा फिल्मले व्यवसायिक सफलता हात पार्न नसक्दा अहिले फिल्मकर्मीमा निराशा छाएको छ । यो असर फिल्म भिसा गर्लमा पनि देखिएको छ ।
फिल्म नचल्नु आफ्नो ठाउँमा छ तर दर्शक तथा फिल्मकर्मीबाट भने भिसा गर्लको तारिफमा कन्जुस्याईं खासै भएको छैन । ठूलो व्यापारिक घराना चौधरी ग्रुपको लगानीमा युवानिर्देशक प्रचण्ड मान श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्म, रेमनदाश श्रेष्ठ, मेनुका प्रधान, रीमा विश्वकर्मा र सलोनी राजभण्डारीको मुख्य भुमिका रहेको छ । कलाकार ऋचा र विनयको सह-निर्माण रहेको लाईट कमेडी फिल्म भिसा गर्ल हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको अमेरिका जाने सपना र आकांक्षाको वरिपरी घुमेको छ ।
फिल्म रिलिजको पाचौं दिन सम्म आईपुग्दा सोचे अनुसारको व्यापार नगरेको यो फिल्मका बारेमा फिल्मीखबरले केहि फिल्मकर्मीसँग प्रतिक्रिया लिएको थियो । उनीहरूको भनाईलाई उनीहरूकै भाषामा प्रस्तुत गरिएको छ ।
दीपेन्द्र के खनाल (निर्देशक)
फिल्ममा आकाश गर्जिने, धर्ती फाट्ने केहि छैन । सामान्य हिसाबले फिल्मलाई प्रस्तुत गरिएको छ । दर्शकको हिसाबले भन्ने हो भने यो फिल्मलाई फिल्म गरेर हेर्ने हो भने मज्जा लिन सकिन्छ र मैले मज्जा लिएँ पनि । फिल्मकर्मीको हिसाबले भन्दा मध्यान्तर पछि अझै राम्रो गर्ने ठाउँ देखिन्छ । तर नयाँ निर्देशकले गरेको यत्तिको कामलाई हामीले प्रशंशा गर्न कन्जुस्याईं गर्न हुँदैन । निर्देशकले जे कुरा देखाउन खोजेका छन् त्यसमा उनी सफल छन् ।
केकी अधिकारी (नायिका)
मलाई फिल्म एकदमै मन पर्यो । फिल्मको प्रस्तुतीकरण, संवाद सबैभन्दा सबल लाग्यो । निर्देशकले पहिलो पटक काम गरेको जस्तो देखिएको छैन । दर्शकहरूले पनि कुनै न कुनै पात्रले निर्वाह गरेको चरित्रमा आफूलाई पाउन सक्छन् जुन निर्देशकको सफलता पनि हो । केहि कमीकमजोरीका बाबजुत पनि यो फिल्म यत्तिको राम्रो बन्नु समग्र उधोगका लागि गर्वको कुरा हो ।
संगीता श्रेष्ठ (संचारकर्मी तथा फिल्मकर्मी)
यति राम्रो फिल्मलाई 'एप्रिसेट' नगर्ने हो भने हामीले फिल्म केका लागि र कस्का लागि बनाउने ? यो हिन्दी फिल्म हुन्थ्यो भने हामी हलमा ठेलमठेल गर्दै पुग्थ्यौं तर बिडम्बना यो नेपाली फिल्म पर्यो । एक पटक यो फिल्म लाई 'फिल' गरेर हेर्न अनुरोध गर्दछु किनकी यो साच्चिकै राम्रो फिल्म हो ।
माधव वाग्ले (निर्माता)
मैले त एकदमै 'इन्जोए' गरें तर क्लाईमेक्समा केहि खल्लो महसुस भयो । धेरै सोचेर गएको थिएँ त्यो क्लाईमेक्समा पुगेर पाउन सकिन तर हेरिन्जेल खुब रमाईलो गरें । फिल्मको लाईट कमेडी र प्रस्तुती राम्रो लाग्यो । नयाँ भाईले गरेको यो काम करन जोहरको जस्तो लाग्यो । यस्तो फिल्म बनेकोमा म खुसी छु ।
आशिफ शाह (निर्देशक)
फिल्म एकदमै राम्रो लाग्यो तर दर्शक हलमा नगएको देख्दा एकदमै नराम्रो लाग्यो । प्रचण्डको मेकिङ स्टाईल राम्रो लाग्यो । फिल्मको प्रस्तुती, कलाकारको अभिनय, लोकेशन सबै राम्रो छ । यो फिल्मबाट निर्देशक सफल छन् ।