
नक्सा पास नभएको तर भवन भएको सुन्धाराको काठमाण्डौं मलमा बन्न लागेको काठमाण्डौं सिनेमा हल नबन्ने भएको छ । काठमाण्डौं मलको छैटौं तल्लामा निर्माण गर्ने लागिएको 'काठमाण्डौं सिनेमा हल' मलको नक्सा पास नभएका कारण नबन्ने भएको हो ।
संचय कोषको नाममा रहेको काठमाण्डौं मललाई पन्ती रानाले १५ बर्ष लिजमा लिएर भाडामा दिएका छन् । २०५७ सालमा तीन तला निर्माणका लागि मात्र नक्सा स्विकृत पाएको भवनले छैटौं तला सम्म निर्माण गरेपछि विवाद भएको थियो । छैटौं तलामा रहेको रेष्टुरेण्टलाई हटाएर प्रोड्यूसर कविता श्रेष्ठले हल बनाउन लागेकी थिईन् ।
२ करोड लगानीमा दुई वटा हल निर्माण गर्ने गरी काम सुरु गरे पनि महानगरपालिकाले नक्सा पास नभएको भन्दै स्विकृती नदिएपछि हल निर्माण हुन नसकेको श्रेष्ठले बताईन् । 'भवन भएर छैटौं तलासम्म छ तर भएको भवनमा सिनेमा हल बनाउँदा सहयोग भएन', श्रेष्ठले बताईन्, 'हल निर्माणका लागि इन्जिनियर खर्च र त्यहाँ भएको रेष्टुरेण्ट हटाउन ६ लाख भन्दा बढी खर्च भयो । अन्तिम समयमा मात्र नक्सा पासको विषयलाई लिएर अनुमती दिइएन ।'
वरदान, प्लान र ढुवानी गरि तीन फिल्म निर्माण गरेकी श्रेष्ठले ४० सिट र १ सय २० क्षमता भएको दुई हल काठमाण्डौं मलमा संचालन गर्ने तयारी गरेकी थिईन् । उनले भनिन्, 'सम्पूर्ण प्रक्रिया पुरा गरेर चलचित्र विकास वोर्ड समक्ष जादा नक्सा पास लिएर आउन भनेपछि नगरपालिकामा जादा भवनको ३ तला नक्सा नै पास भएको रहेनछ ।' यस्तै उनले बाँकी तल्लाको नक्सा पास गर्नका लागि संचय कोषलाई आग्रह गर्दा संचय कोषले चासो नदिएको बताईन् । 'संचय कोषले जति भाडा पाउने सम्झौता भएको छ त्यति पाएको छ त्यसैले हल निर्माणका लागि चासो नदिएको होला', उनले भनेकी छिन् ।
नक्सा पासको विषयमा काठमाण्डौं मलमा यसअघि नै विवाद भएको थियो । तत्कालिन मेयर केशव स्थापितको पालामा भएको नक्सा पासका विषयमा स्थापितले पुरानो कुरा याद नभएको प्रतिक्रिया दिएका छन् । यस्तै उता चलचित्र विकास वोर्डका अधिकृत अनुपम निरौलाले सिनेमा घर निर्माणको अनुमतीका लागि नक्सा पास अनिवार्य भएकाले नक्सा पास खोजिएको बताउँदै प्रक्रिया पुरा गरे अनुमती दिइने बताउछन् ।
काठमाण्डौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले मापदण्ड के छ विगतको अवस्था त्यो हेरेर मात्र लगानी गर्नुपर्ने बताउँदै नक्सा पास गर्ने प्रक्रिया भए र मापदण्ड छ भने हुन सक्ने बताउँदै नक्सा पास विना काम नहुने बताए । 'विवादित ठाउँमा थप संरचना बनाएर जोखिम लिनु स्वयं व्यवसायीका लागि राम्रो होइन', उनले भने ।