
लफडा, भेटी लगायतका केहि नेपाली फिल्ममा सहायक निर्देशक भई काम गरेका मगर ठिटो संजय काउछा फिल्म निर्देशक बन्ने भएका छन् । दुई वटा मगर फिल्म निर्देशन गरिसकेका संजयले निर्देशन गर्ने फिल्मको नाम 'Do You Love Me ?' राखिएको छ ।
कार्तिक १६ गतेबाट सुटिङ शुरू हुने सो फिल्मको बिहिबार राजधानीको प्रदर्शनी मार्ग स्थित साईन डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ शुरू गरियो । यसै फिल्मबाट संगीतकारको रूपमा डेब्यू गर्न लागेका राजु भुजेलको शब्द तथा संगीत रहेको एक गीतमा धमेन्द्र सेवानले स्वर दिए । तीन वटा गीत समावेश गरिने सो फिल्मको शिर्ष गीतमा भने संगीतकार भुजेलले नै स्वर दिए जसको शब्द निर्देशक काउछाले लेखेका हुन् ।
सुदिप रानाले निर्माण गर्न लागेको प्रेमकथानक सो फिल्मको कथा, पटकथा तथा संवाद निर्देशकले नै लेखेका हुन् । फिल्ममा लक्ष्मण लक्स, मिस मंगोल सपना रोका र प्रमोद खड्का अभिनयका लागि करिब फाईनल भएको निर्देशक काउछाले जानकारी दिँदै अन्य कलाकार छनोट हुन बाँकी रहेको बताए । अहिले यि कलाकारलाई बिरेन्द्र हमालले अभिनयको कोर्ष गराईरहेका छन् ।
काठमाण्डौ र धादिङमा सुटिङ गरिने यो फिल्मको प्रोडक्सन डिजाईनरको जिम्मा बुद्धिलाल मगरले पाएका छन् । फिल्ममा कविराज गहतराजको करियोग्राफी रहने छ भने अन्य कलाकार र प्राबिधिकको केहि दिनमा टुंगो लाग्नेछ ।