
पुराना अभिनेता तथा निर्देशक विश्व बस्नेतको निर्देशनमा सुटिङ चलिरहेको फिल्म स्कुलको तस्विरहरु सार्वजनिक गरिएको छ । नीर शाह, विएस राणा, विजय लामा, रबिन्द्र खड्का, सुस्मिता बमजन, धिरेन्द्र राज थापा, शिर्जा झा सहित सयौं स्कुले विद्यार्थीहरुको उपस्थितमा सो फिल्मको सुटिङ राजधानीमा चलिरहेको छ ।
एक महिनाको अवधिमा ७५ प्रतिशत सुटिङ सकिएको निर्देशक बस्नेतले जानकारी दिए । आध्यात्म पक्षलाई स्क्रिप्टमा ढाल्दै निर्देशकले यो फिल्मको स्क्रिप्ट दश बर्ष लगाएर तयार पारेका हुन् । आउँदो १५ दिन भित्र सम्पूर्ण सुटिङ सकिने बताईएको सो फिल्मलाई राजु बिक्रम थापाले खिचेका छन् । काठमाण्डौ कै कथा भएकाले सुटिङ पनि काठमाण्डौ उपत्यका भित्र गरिएको छ ।
झण्डै एक दशक पछि फिल्म निर्देशन गरेका बिश्वले निर्देशन गरेको पहिलो फिल्म सिन्दूर हो भने त्यसपश्चात उनले नाता, एकादेशमा, चलचित्र, यस्तै रहेछ जीन्दगी निर्देशन गरेका थिए । थुप्रै फिल्ममा नायक तथा चरित्र अभिनेता भएर अभिनय गरेका बिश्वले स्कुल फिल्ममा आफ्नो भएजति अनुभव खन्याएको बताए । असल र सफल नागरिक उत्पादनका लागि आध्यात्मिक र नैतिक दुबै ज्ञान स्कुल देखि नै दिनुपर्छ भन्ने सन्देश फिल्मले दिने बिश्वको भनाई छ ।