
पछिल्लो समय बिदेशी फिल्म मेकरहरू नेपाली फिल्म तर्फ आकर्षित हुँदै गईरहेका छन् । कोही निर्माताको रूपमा आएका छन् त कोही निर्देशक अनि कोही कलाकार तथा क्यामेरा म्यान । यहि क्रममा अष्ट्रेलियन नागरिक फिलिप जोनले नेपाली फिल्म 'सुपर गोर्खे' को निर्देशन गर्ने भएका छन् ।
बिगत लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका एनआरएन गजेन्द्र थापाको निर्माणमा बन्न लागेको सो फिल्मको निर्देशनका लागि फिलिप नोभेम्बरको पहिलो साता सम्ममा नेपाल आउनेछन् । नेपाल आएर फिल्मका लागि कलाकारहरूको अडिसन लिने निर्माता गजेन्द्रले फिल्मीखबरसँगको भेटमा बताए । उनले भने, 'अहिले कलाकारको अडिसन लिन्छौं र वर्कसप शुरू गर्छौं ।' सुटिङ भने फेब्रुअरी अन्तिमबाट शुरू गर्ने गजेन्द्रले बताए ।
निर्देशक जोनले प्रोडक्सनमा सघाउन अष्ट्रेलियाबाट नै लोरी जारा न्यू म्यानलाई नेपाल ल्याउने छन् भने क्यामेरा म्यान पनि उतैबाट ल्याउने सम्भावना रहेको गजेन्द्रको भनाई छ । हेलियोसेन्ट्रिक मिडियाको व्यानरमा निर्माण हुने सुपर गोर्खेका लागि गजेन्द्र र भुपेन्द्र क्षेत्री मुख्य भुमिकामा रहने छन् र बाँकी कलाकार अडिसनबाट फाईनल हुनेछन् । अष्ट्रेलियामा अभिनय र निर्देशकको कोर्ष गरेका गजेन्द्रले 'सुपर गोर्खे' पछि आफैले अर्को फिल्मको निर्देशन गर्ने बताए ।
निर्माता गजेन्द्रको कथा तथा विकास आचार्यको पटकथा तथा संवाद रहने उक्त फिल्मले सुपर हिरो हुनका लागि शाहस चाहिन्छ सुपर पावर हैन भन्ने थिमलाई बोक्नेछ । निर्देशक जोनकै संगीत रहने सो फिल्म कमेडी, एक्सन, लभ तथा रोमान्सले भरिपूर्ण रहने बताईएको छ । फिल्मको सुटिङ नेपालमा नै गरिने छ ।