
नायक उत्तम प्रधानले आफ्नो डेब्यू फिल्म दर्पणछाँयाको जस्तै दर्शक माया पुन: पाउने आश व्यक्त गरेका छन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लेटर' को बारेमा जानकारी दिन बुधबार आयोजना गरिएको सञ्चारकर्मी भेटघाट कार्यक्रममा उत्तमले केहि समय फिल्म क्षेत्रबाट हराए पनि आफ्ना दर्शकले अझै माया नमारेको बताए । उनले भने, 'म केहि समयका लागि टाढिए पनि मेरो दर्शक अझै मसँग हुनुहुन्छ त्यसैले मैले अभिनय गरेको लेटरलाई पक्कै मेरा दर्शकहरूले हेर्न छुटाउनु हुन्न ।'
दर्पणछाँया पश्चात केहि फिल्ममा अभिनय गरेको तर सोचे अनुरूपको सफलता नपाएकोले र आफूलाई चित्त बुझ्दो भुमिका नआएकाले फिल्म क्षेत्रबाट टाढिएको उनको भनाई थियो । लेटरमा मुख्य भुमिका निर्वाह गरेका उत्तम हँसिलो मुद्रामा भन्दै थिए, 'दर्पणछाँया पछि धेरै जना त्यस्तै भुमिका गर्दिन पर्यो भन्दै आए । अनि मलाई चित्त बुझेन र काम गरिन । लेटरमा बिल्कुलै नयाँ स्वादको भुमिका पाएँ र गरें ।'
सिक्किममा रहेर नेपाली फिल्म प्रति चासो देखाउँदै निर्देशनमा हात हालेका साम्तेन भुटियाले फिल्ममा नयाँ प्रस्तुती दिन खोजेको बताए । फिल्म सस्पेन्स रहेकाले कथाको बारेमा नबोलेका साम्तेनले लेटरलाई फरक कथाबस्तु र प्रस्तुतीको फिल्म भन्दै हेरेर प्रतिक्रिया दिन आग्रह गरे । त्यस्तै निर्माता अनुप ठटालले पहिलो पटक फिल्म क्षेत्रमा प्रवेश गरेको बताउँदै आफूलाई निराश नबनाईदिन सञ्चारकर्मीलाई आग्रह गरे ।
लेटरबाट डेब्यू गरेकी सिक्किमेली नायिका एनी जिम्बाले फिल्ममा काम गर्ने आफ्नो रहर पूरा गरेको बताईन् । फिल्ममा सिम्पल र इन्डिपेन्डेन्ट केटीको भुमिका निर्वाह गरेकी एनीले आफ्नो तर्फबाट सक्दो मेहनत गरेको बताउँदै नयाँ स्वादको फिल्म दर्शकले हेर्न पाउने बताईन् ।
प्लाईङ फिस फिल्म्सको व्यानरमा निर्मित लेटरमा उत्तम र एनीको साथमा बिशाल चाम्लिङ, रिती राई, अनुप ठटाल, अरूण रेग्मीको मुख्य भुमिका रहेको छ । सत्यस्वरूपको संगीत रहेको लेटरलाई सागर प्रधानले खिचेका हुन् । फिल्ममा सुजिल कर्मचार्यले व्याकग्राउण्ड संगीत भरेका छन् ।