
असोज २७ गते हुने चलचित्र कलाकार संघको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । १ सय ८८ सदस्य आजिवन सदस्य एवं अन्य २ सय १८ कलाकार सामान्य सदस्यको रुपमा रहेको संघको निर्वाचन मण्डलीले आजबाट आफ्नो कार्य सुरु गर्दै निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
बरिष्ठ निर्देशक राजेन्द्र शलभ सहित अर्का निर्देशक सुमन दाहाल र अधिवक्ता शम्भु निरौलाको निर्वाचन मण्डलीले चुनावी माहोललाई तताउने उद्देश्य सहित दश दिने कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिकामा आजको मिति (असोज १६) देखि आउदो बिहिबार (१८ गते) सम्म संघमा सदस्यता नविकरण नगरेका कलाकारको दाबी एवं विरोधको तालिका बनाईएको छ । यसैगरी १९ गते कलाकार संघका सदस्यता लिएका सम्पूर्ण सदस्यको अन्तिम नामावली प्रकाशन गरिने छ । १९ गतेको अन्तिम नामावली प्रकाशनले निर्वाचनमा कति कलाकारले भाग लिदैछन् भन्ने प्रष्टीनेछ ।
यसैगरी २० गते नयाँ नेतृत्वको लागि उठ्ने उम्मेदवारी मनोयन कार्यक्रम तय गरिएको छ भने २१ र २२ गतेको मितिमा उम्मेदवारी दाबी एवं विरोधको तालिका निर्वाचन मण्डलीले बनाएको छ । यस्तै २३ गते निर्वाचन उम्मेदवारी अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन प्रक्रियालाई विवाद रहित बनाउन २४ र २५ को मितिलाई उम्मेदवारी फिर्ता समय भनिएको छ जसको भोलीपल्ट २६ गते अन्तिम उम्मेदवार नामावली प्रकाशित गरिदै २७ बिहान ११ बजे देखि साधारणसभा उद्घाटन सहित बन्द सत्र हुदै निर्वाचन समापन हुने छ ।
संघको कार्यसमिति अब २१सदस्य हुने
निर्वाचन अधिकृत सुमन दाहालका अनुसार हालको १७ सदस्य संघको कार्यसमिति यो पटकको निर्वाचन प्रक्रियाबाट २१ सदस्यको हुनेछ । यो पटकको निर्वाचनमा १७ सदस्य सिधै निर्वाचनबाट आउने छन् भने जितेका अध्यक्षले आफू निकटका अन्य चार ब्यक्तिलाई मनोनित गर्दै संघको कार्यसमितिमा अटाउनेछन् । मनोनित अन्र्तगत तृतीय उपाध्यक्षको रुपमा एक ब्यक्तिलाई तानिने छ भने तीन साधारण सदस्यको रुपमा तानिने छन् । आजको मिति सम्म निर्वाचनका लागि अध्यक्षको उम्मेदबारी नबल खड्का र सबिन बास्तोलाको परेको छ ।