
पछिल्लो समय नेपाली फिल्मले पनि विदेशी बजार पाउन थालेको छ । यसै क्रममा सबिर श्रेष्ठ निर्देशित फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' यही साता वेलायतको लण्डन शहरमा अवस्थित THE GRAND THEATRE WOOLWICH मा भव्य प्रदर्शन गरिएको छ ।
नेपाल स्थित समाजसेवी दिलशोभा श्रेष्ठले सञ्चालन गरेको`आमा घर` को सहयोगार्थ गरिएको सो फिल्म प्रदर्शन अगाडी प्रमुख अतिथि एन.आर.एन. यूकेका अध्यक्ष कुल आचार्यले बोल्दै मनोरन्जनमा पनि समाज सेवाको भावना बोकेर फिल्म प्रर्दशन गर्नु अत्यन्त सर्हानिय भएको र यस कार्यले नेपाली फिल्मको उत्थान हुने कुरा प्रस्ट्याउंदै आयोजकलाई बधाई एवं शुभकामना दिएका थिए । साथै सोही दिन अध्यक्ष आचार्यले एन.पि.सि.सि. यूकेका पदाधिकारीहरुबाट 'आमाको घर' को लागी उठाइएको १४५ पाउण्ड आयोजकलाई हस्तान्तरण गरेका थिए ।
पछिल्लो समय वेलायतमा प्रदर्शन गरिएको प्राय सबै फिल्म यूवा वर्गलाई लक्षित गरि प्रदर्शन गरिएको अवस्थामा यो फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' हेर्नका लागि विद्यार्थी, परिवार तथा व्यवसायीहरु सहित ५ देखि ६० वर्ष उमेरका करिव २०० दर्शक हलमा देखिएका थिए । पारिवारिक सांगितिक प्रेमकथामा आधारित फिल्म प्राविधिक हिसाबले निकै राम्रो लागेको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।
'के म तिम्रो साथी बन्न सक्छु' वेलायत प्रदर्शनको जिम्मा के. के. मुभिज प्रोडक्सनले लिएको हो भने मनिष श्रेष्ठ, विनोद ज्ञवाली, दिनेश कार्की, सागर खरेल लगायतले साथ दिएका थिए । फिल्मलाई आगामी १२ अक्टोबरमा अल्डरसट प्रिन्सेस हल वेलायतमा मिस यूके नेपाल आयोजना गर्दै आएको स्थापित कम्पनी EVENT AND IDEAS PRODUCTION ले प्रदर्शन गर्दै छ । सबिर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा आर्यन सिग्देल, दिप्ती गिरी, सन्दिप सापकोटा, धिरेन शाक्य, दिनेश डिसी लगायतले अभिनय गरेका छन् ।