
बोलीमा दम नभएपछि खै के पाउछन् उनले आलोचना वा प्रसंसा आफ्ना लागि कुनै शब्द राखेका छैनन् शोभित बस्नेतले । विभिन्न बिषयले कन्ट्रोभर्सी मा फसिरहने शोभितले २५ औँ निर्देशन पश्चात फिल्म निर्देशन नगर्ने बताएका थिए तर त्यो बोली बोलेको तीन महिना पुग्न नपाई उनले आफ्नो बोली फेरेका छन् ।
'जाउँ हिड पोखरा' उनको पछिल्लो फिल्म हो जसको पोष्ट-प्रोडक्सन कार्य पनि सकिएको छैन तर उनले सन्यास घोषणा गरेको तीन महिना पुरा हुन नपाई फेरी फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । दशैको पूर्णिमा पश्चात उनी नयाँ फिल्म निर्देशनमा जाने निश्चित भएको हो जसको गीत रेकर्डिङ कार्य आजबाट सुरु पनि गरेका छन् । केआर ईन्टरटेन्मेन्टको ब्यानरमा गौतम मुखर्जी र करन श्रेष्ठको निर्माणमा शोभितले निर्देशन गर्न लागेको फिल्मको कलाकार र प्राबिधिक तय भईसकेको छैन तर फिल्ममा समावेश हुने चार गीत रेकर्डका लागि तीन गायक गायिका फाईनल गरेका छन् उनले ।

शोभितका अनुसार यो फिल्ममा अनन्द कार्की, माण्डवी त्रिपाठी र कोमलराज भण्डारीले गीत गाउने छन् भने अन्य फाईनल हुन् बाँकी छ । टेक बुढाथोकीको म्यूजिकमा गीत रेकर्डिङको साईत निकालिएको शोभितको २६ औँ फिल्मको कथाकार चाहि सुशिल पंगेनी हुन् । 'केही समयका लागि फिल्म निर्देशन नगर्ने भनेरै मैले सन्यास घोषणा गरेको हो तर यो फिल्म निर्देशनका लागि राम्रो अफर आएकाले मैले सन्यास तोड्न बाध्य भएँ', शोभितले गीत रेकर्डिङ शुभसाईत पश्चात भने ।
शोभितले उपयुक्त साईतमा केही दिन भित्रै फिल्मको शुभ मुहुर्त पनि गर्दैछन् । 'एउटा योङ ग्रुपको कथाले भरिएको फिल्म हो यो त्यसैले नाम के राख्ने अझै फाईनल भईसकेको छैन', उनले भने । सन्यास तोड्न आफूलाई कथाले पनि ठूलो भूमिका खेलेको उनले बताए । कमलपोखरी स्थित ए वान म्यूजिशियन स्टूडियोमा गीत रेकर्डिङ सुरु गरेका उनले काठमाण्डौ र दामनमा उक्त फिल्मको सुटिङ लोकेशन तय गरेको बताए ।
