
आगामी शुक्रबार रिलिज हुने भनिएको फिल्म माई ब्रदर असोज २६ मा सरेपछि सो दिन तीन फिल्म भिसा गर्ल, लेटर र जय होस् मात्र रिलिज हुनेछन् । रिलिज हुन लागेका यि फिल्म मध्ये भिसा गर्ल असोज १२ बाट सरेर १९ मा पुगेको हो भने लेटर पनि असोज १२ बाट सरेर १९ मा पुगेको हो । जय होस् भने क्यू सिस्टमबाट नसरी यहि मितीमा आउन लागेको हो ।
सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको फिल्म भिसा गर्लमा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । कलाकार ऋचा र विनयको सह-निर्माण रहेको लाईट कमेडी फिल्म भिसा गर्ल हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षाको वरिपरी घुमेको बताईएको छ ।
प्लाईङ फिस फिल्म्सको व्यानरमा अनुप ठटालले निर्माण गरेको फिल्म लेटरलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । फिल्ममा उत्तम प्रधान, बिशाल चाम्लिङ, एनी जिम्बा, रिती राई, अनुप ठटाल, अरूण रेग्मीको मुख्य भुमिका रहेको छ । सत्यस्वरूपको संगीत रहेको लेटरलाई सागर प्रधानले खिचेका हुन् । फिल्ममा सुजिल कर्मचार्यले व्याकग्राउण्ड संगीत भरेका छन् ।
सुधन धितालको निर्माणमा घनश्याम खतिवडाले निर्देशन गरेको फिल्म जय होसमा राजेश हमाल, बिराज भट्ट, सुमिना घिमिरे, कृष्ण भट्ट, सौजन्य सुब्बा लगायतको अभिनय रहेको छ । धनि र गरिब बिचको सम्बधलाई प्रस्तुत गर्न खोजिएको सो फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ भने छायाँकन पुरूषोत्तम प्रधानको रहेको छ ।
यता असोज १९ बाट सरेर असोज २६ गते पुगेको फिल्म माई ब्रदरलाई बिष्णु भट्टराईले निर्देशन गरेका हुन् । पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको यो फिल्मलाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् । बालमनोविज्ञानलाई पनि आफ्नो कथामा समेटेका निर्देशक भट्टराईको यो फिल्ममा सुमिना घिमिरे र दीपक पाण्डेको साथमा रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेलको अभिनय हेर्न सकिनेछ ।