मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मोफसलबाटै ठुलो पर्दामा जम्ने सुरमा पोखरेली हिरोहरु

रेम बिक, पोखरा, 2012/09/28

नेपाली फिल्म उद्योगमा हिरो बन्नका लागी काठमाण्डौँ नै जानुपर्ने भन्ने एउटा नराम्रो प्रचलन छ । हरेक कुरा राजधानी केन्द्रित भएको अवस्थामा कलिउड नगरीमा हिरो बन्नकै लागी धेरै युवाहरु काठमाण्डौ नपुगेका पनि होईनन् । रहर नभई बाध्यताले आफ्नो करिअर निर्माणका लागी काठमाण्डौमा जानै पर्ने बाध्यताले धेरै युवाहरु कलिउड नगरीमा भित्रिने गरेका छन् । तर पोखरामा केहि त्यस्ता युवाहरु छन् जो पोखरामै रहेर पनि फिल्म नगरीमा चर्चा पाउन सकिन्छ भनेर संघर्षरत छन् ।


भलै मोफसलमा रहेर केन्द्रसंग पैठाजोरी गर्ने हिम्मत गरेका उनीहरु संख्यात्मक हिसाबले कम फिल्ममा काम गरिरहेका छन् । तर उनीहरु आफ्नो निर्णयमा अडिग छन् र काठमाण्डौका फिल्मकर्मीहरुले पनि उनीहरुलाई सम्झिने गरेका छन् । संघर्षरत उनीहरु सबैजना एकै स्वर बनाउँछन् 'हामी पोखरामै रहेर पनि धेरै कुरा गर्न सक्ने क्षमता राख्छौँ ।' आफ्नो ठाउँ र आफ्नो नाउँ एकैचोटी उँचो बनाउन चाहने यी युवाहरु पोखरामै पनि फिल्मी बिजनेशको प्रशस्तै संभावना देख्छन् ।


चकलेटी अनुहारका मिलन शंकर पोखरामै जन्मिएर हुर्केका हुन् । सानैदेखिको रहरले उनलाई फिल्मी दुनियाँमा तानेको हो । पोखरामा चल्तीका म्युजिक भिडियो मोडल हुँदै फिल्म तिर तानिएका उनले ठुलो पर्दाको फिल्म 'माई लाईफ' मा नायक भएर देखिईसकेका छन् । एउटा क्रिष्चियन फिल्ममा पनि अभिनय गरेका नायक मिलन शंकरलाई काठमाण्डौँ जाने होईन भनेर सोध्यो भने भन्छन्- 'काठमाण्डौ मात्र सबथोक त होईन नी ! हामी पोखराको मान्छे भएर पोखराबाटै केन्द्रिय स्तरको काम गर्न सकिन्छ भन्ने मेरो मान्यता छ ।' कामको शिलशिलामा काठमाण्डौँका निर्माता निर्देशकसंग काम गरे पनि पोखरालाई कर्मथलो बनाउने कुरामा कुनै दुई मत नरहेको उनले सुनाए ।

 


पोखराको गणेशटोलमा स्थायी घर भएका दीपेन्द्र श्रेष्ठ पनि सबैकुराले फिल्मको हिरो हुनलाई फिट छन् । अग्लो कद, गठिलो शरिर र मिठो मुस्कान भएका दीपेन्द्र केहि समय अगाडी पोखरामा स्थानिय स्तरबाट बन्ने गरेका फिल्महरुमा निकै जमेका थिए । पछिल्लो समय मुलधारका फिल्ममा समेत जम्ने सुरमा रहेका दीपेन्द्रलाई फिल्ममा खेल्नका लागी काठमाण्डौ नै गएर बस्नु परेको छैन । 'जहाँ बसे पनि सम्बन्धको कुरा हो र आफुले पनि क्षमता देखाउन सक्नु पर्‍यो', दीपेन्द्र अगाडी थप्छन्- 'त्यसैले हिरो बन्न कै लागी काठमाण्डौमा अड्डा जमाएर बस्नुपर्छ भन्ने मलाई लाग्दैन ।' काठमाण्डौ नै जानुपर्ने बाध्यता भएपनि केन्द्रिकृत प्रणालीलाई हटाउनका लागी हरेकले पहल थाल्नुपर्ने उनको भनाई छ ।


नेपालको पश्चिमी भेगबाट पोखरा झरेका निरज पन्तले पोखरालाई आफ्नो कर्मथलो बनाएका छन् । पेशाले एमआर रहेका उनी २०११ को मिस्टर पोखराको उपाधी विजेता समेत हुन् । नेपाली फिल्म उद्योगमा हिरो बन्ने धुनमा रहेका उनी पनि हिरो बन्नका लागी काठमाण्डौँ जाने सोँचमा छैनन् । करिब आधा दर्जन म्युजिक भिडियो र केहि फिल्ममा देखिएका पन्त पनि पोखरामै रहेर फिल्ममा जम्ने सोँचमा रहेका छन् । उनी भन्छन्- 'पोखरा फिल्मकर्मीहरुको रोजाईको ठाउँ पनि हो यहाँ फिल्म सम्बन्धि धेरै क्रियाकलापहरु हुने गर्छन् । त्यसैले काठमाण्डौमा हुने कुरा यहि हुने भएकोले काठमाण्डौ जानै पर्छ जस्तो मलाई लाग्दैन ।'

 


सन्दीप केसीले अहिलेसम्म कुनै फिल्म त खेलेका छैनन् । यद्यपी उनी फिल्मको हिरो बन्ने धुनमा छन् । चकलेटी अनुहार अग्लो शरिर र मिठो मुस्कान भएका उनी फिल्ममा हिरो बन्नकै लागी विभिन्न प्रशिक्षण लिईरहेका छन् । गगनगौँडा घर भएका केसी पनि हिरो बन्नकै लागी काठमाण्डौ जाने सुरमा छैनन् । उनी भन्छन्, 'केहि फिल्मकर्मी साथीहरुसंग फिल्मको लागी कुरा भैरहेको छ शायद पोखरामै रहेर मेरो करिअरलाई अगाडी बढाउँछु मलाई काठमाण्डौ जाने मन छैन ।'

 


अर्का यस्तै सोँच भएका पोखरेली युवा हुन् नबिन तिम्सिना । पोखराको मालेपाटनमा घर भएका नविन केहि वर्ष अगाडी नायिका झरना थापासंग 'कल्ले लाने हो मलाई डोलीमा चढाई..' बोलको गीतमा देखिएपछि यो क्षेत्रमा प्रवेश गरेका हुन् । करिब दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका उनी केहि समयपछि फिल्ममा हिरो हुँदैछन् । 'बाघ : द टाईगर' नामक फिल्ममा हिरो बन्ने पक्कापक्की भैसकेका नविन पनि काठमाण्डौ नजाने बताउँछन् । 'पोखरामै रहेर संघर्ष गरिरहेको छु अब पोखरालाई पो फिल्म नगरी बनाउने हो कहाँ काठमाण्डौ जाने ?', प्रति प्रश्न गर्दै उनी भन्छन् ।

 

कुनै पहल नहुँदा उनीहरु चलचित्र विकास बोर्डसंग रुष्ट समेत छन् । यद्यपी अरुको भर नपर्ने भन्दै यहाँका फिल्मकर्मीहरुसंग मिलेर पोखरालाई फिल्म नगरी घोषणा गर्न उनीहरु कम्मर कसरे लागेका छन् । उनीहरु भन्छन्- 'पोखरा फिल्म नगरी भयो भने हामीलाई काठमाण्डौसम्म धाउनै पर्दैन ।'