
मच्छिन्द्र क्लबको आयोजनामा बिहिबार देखि आरम्भ भएको प्रथम नेवाः फिल्म फेस्टिभल ने.सं. ११३२ को एक समारोह बीच केलटोलका जेष्ठ नागरिकद्धय आनन्द शाक्य र पूर्ण कुमारी कर्माचार्यबाट संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटन समारोहमा पत्रकार एवं निर्देशक विजयरत्न तुलाधरले नेपाल भाषाको फिल्मको स्थिती बारे प्रकाश पारे भने क्लबका अध्यक्ष जिवेन्द्रलाल कर्माचार्य, 'सिलु' का नायक जय श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राखे । उक्त फिल्म फेस्टिभलमा आठ वटा लामा र आठ वटा छोटा फिल्म तथा डकुमेन्ट्री गरी १६ वटा फिल्म देखाइनेछ । नेपाल भाषाका फिल्म र फिल्मकर्मीलाई प्रोत्साहन प्रदान गर्न तथा नेपाल भाषाको कला संस्कृतिलाई जगेर्ना गर्न यो महोत्सव गरिएको आयोजकले बतायो ।
उदघाटन सत्रमा नेपाल भाषाको पहिलो फिल्म 'शिलु' देखाईयो भने शुक्रबार 'तुताँ' (लौरो) प्रदर्शन गरियो । राष्ट्रिय फिल्म अवार्डमा सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको नेपाल भाषा तथा नेपाली फिल्म पटचारा पनि सो महोत्सवमा देखाईने भएको छ । केलटोल मच्छिन्द्र बहालमा खुल्ला रुपमा देखाइने यी फिल्महरु निःशुल्क रुपमा प्रदर्शन गरीने मच्छिन्द्र क्लबका सुनिल श्रेष्ठले बताए ।