
फिल्मी बजार सुधारका लागि आज बसेको फिल्म वितरकहरुको भेलाले चार वटा समिति गठन गरेको छ । चलचित्र संघ अन्र्तगत दर्ता रहेका देशभरिका १९ जना वितरकहरुको भेलाले चार शिर्षकमा फिल्मी बजार सुधार गर्ने प्रयास सुरु गरेको हो ।
संघका महासचिव तथा यो बर्षदेखि वितरकको समेत नयाँ बिशेषण पाएका प्रदीप उदयका अनुसार आगामी पन्ध्र दिन भित्र सवै समितिले ठोस निर्णय निकाल्दै हालको अवस्थामा बिग्रिएको फिल्मी बजारलाई केही हदसम्म सुधार गर्ने छ । बैठकले केही गम्भीर नितीगत बिषय र दर्शकको फिल्म डिमान्ड कस्तो छ भन्ने उद्देश्य सहितको मिसनलाई पहिलो नम्बरको बार्ता टोली भनी समिति गठन गरेको छ जसले निर्माता संघसंग विविध बिषयमा छलफल गरी कुनै ठोस निर्णय निकाल्ने छ । सो टोलीमा प्रदीप उदय, नरेन्द्र महर्जन र हरि बराल सदस्यका रुपमा रहेका छन् ।
यसैगरी वितरक निर्माता र हलवालाको विवादित बिषयलाई टुङगो लगाउने जिम्मा छानविन समितिलाई दिईएको छ । यो समितिमा नरेन्द्र महर्जन, गोपाल कायस्त र बीरेन्द्र महर्जन रहेका छन् । यस्तै तेस्रो अन्तर्गत एकरुपता सम्झौता पत्र तयार समिति भनी गठन गरिएको छ । जसमा नरेन्द्र महर्जन, सुनिल मानन्धर, केदार पराजुली, हरि बराल, विक्रम पराजुली, बीरेन्द्र महर्जन सदस्यका रुपमा छन् भने चौथो वितरण पूर्णता समिति अन्र्तगत नरेन्द्र महर्जन, केदार पराजुली, चैतन्य बराल, उज्जवल पौडेल र सागर नेगी रहेका छन् । नरेन्द्र वितरण सभापति भएकाले उनी हरेक समितीमा रहेका हुन् ।
यस्तै फिल्मीखबरलाई दिईएको जनाकारी अनुसार बैठकमा हिजो देखि ताम्सालिङ राज्यमा माओवादीले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको बिषयमा भने छलफल हुन सकेन । यध्यपी हिन्दी फिल्म नचलेको खण्डमा नेपाली फिल्मको समेत मार्केट खस्कने तर्क वितरकहरुले दिदै आएका छन् ।