
छायाँकनमा रहेको फिल्म 'वार' का छायाँकार राजेन्द्र सापकोटा माथि हातपात भएको छ । सुटिङका क्रममा द्धन्दनिर्देशक हिमाल केसीले आफू माथि हातपात भएको राजेन्द्रले बताए ।
सूदूर पश्चिमको धनगढीमा सुटिङ भईरहेको अवस्थामा हिमालले रक्सीको नशामा लठ्ठिएर आफूलाई कुटेको राजेन्द्रले बताए । उनले भने, 'मैले गरेको काम चित्त बुझेन भन्दै मुख छाड्ने गर्नुहुन्थ्यो तर अस्ति त पिट्नु पनि भयो ।' कुटेको भोली पल्ट हिमालले सरी मागे पनि आफूलाई मानसिक तनाव भएकाले सुटिङ छोडेर आउन परेको राजेन्द्रको भनाई छ । आफू सहित ६ जना प्राबिधिकलाई लिएर उनी बुधबार काठमाण्डौ आएका हुन् ।
यता द्धन्दनिर्देशक हिमाल केसीले सम्झाउन खोज्दा हातपात हुन गएको बताए । रक्सी खाएको आरोपको खण्डन गर्दै उनले भने, 'मलाई नपढेको र आफू पढेको भनेर हेप्न खोज्यो अनि सो कुराले मलाई चित्त दुख्यो र एक झापड हानेको हो । तर भोली पल्ट मिलेर काम गरौं भन्दा उ आफै सुटिङ छोडेर हिड्यो ।' करिब १८० फिल्ममा द्धन्दनिर्देशक भईसक्दा यसरी कसैले नहेपेको र यसरी आफू भन्दा जुनियरबाट हेपाई सहन नसकेको हिमालको भनाई छ । तर राजेन्द्र भने नयाँ प्रयोग गरौ भन्दा हिमालले आफ्नै लेंडेढिपी गरेको बताउँछन् ।
स्मरण रहोस् नायिका शुष्मा कार्कीले पनि केहि दिन अगाडी यस्तै दुर्व्यवहार सहन नसकेको भन्दै सुटिङ छोडेकी थिईन् । फिल्मलाई मकुन्द भट्टले निर्देशन गरिरहेका छन् ।