
अर्न्तराष्ट्रिय कलाकार संघको २० औँ साधारण सभामा भाग लिन चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकी क्यानेडाको टोरन्टो प्रस्थान गरेका छन् । असोज ११ देखि १३ सम्म हुने साधारण सभाको निर्वाचन मण्डलीमा उनलाई चयन गरिएकाले उनी टोरन्टो प्रस्थान गरेका हुन् । निर्वाचन मण्डलीमा नेपाल सहित ब्राजिल र पोल्याण्डका अध्यक्षहरुलाई पनि चयन गरिएको छ ।
अर्न्तराष्ट्रिय स्तरमा कलाकारहरुको अवस्था मजबुत बनाउने एवं एक देशका कलाकारलाई अर्को देशका कलाकारसंग परिचित गराउने लगायतका विभिन्न उद्देश्य सहित स्थापना भएको उक्त संघ अर्न्तगत नेपालको कलाकार संघले भने सन् २००७ देखि सदस्यता लिएको हो । हरेक चार बर्षमा हुने साधारण सभा गएको पटक रुसको मस्कोमा आयोजना भएको थियो जुन साधारण सभामा पनि बुढाथोकीले नै प्रतिनिधित्व जनाएका थिए ।
कलाकार संघले दिएको जानकारी अनुसार बुढाथोकीले साधारण सभामा कलाकारहरुको अभिनय पृष्ठभूमी प्रस्तुत गर्दै नेपाल बहुजाती र संस्कृतिको धनी मुलुक र प्राकृतिक सौन्दर्यको धनी मुलुक भएकाले विश्वका सम्पूर्ण कलाकारहरुलाई नेपाल छायाकंन स्थल बनाउनका लागि आह्वान गर्ने छन् । उनी असोज १६ गते स्वदेश फर्किने छन् ।