
साईलेन्स कम्पनी अर्न्तगत रहेर लाजिम्पाटमा दुई बर्ष कार्यालय सञ्चालन गरेका सम्पादक सुरेन्द्र पौडेलले दोस्रो पटक कार्यालय परिवर्तन गरेका छन् । साईलेन्स ब्यवस्थापनमा केही उतारचढाव आएपछि ८ महिना अघि उनी नयाँ बजार सरेका थिए तर फिल्मकर्मीका लागि सो एरिया पायक नभएको भन्दै उनले नारायणहिटी दरबार संग्राहालय उत्तर ढोकाको धौविचौर स्थित नेपाल मार्गमा कार्यालय सारेका छन् । उनले हिजो मंगलबारको उपयुक्त साईतबाट कार्यालयको औपचारिक कार्याहरु सुचारु पनि गरे ।
छोटो समयमा निकै ख्याती कमाएका सुरेन्द्र उद्योगका सवैभन्दा महंगा फिल्म एडिटर पनि हुन् । उनले मेरो एउटा साथी छ, ब्याच नम्बर १६, आईएम सरी, लुट जस्ता चर्चित फिल्मलाई सम्पादन गरेका छन् । अहिले उनको कार्यालयमा ब्याच नम्बर १६ का निर्देशक पिताम्बर पाण्डेको नयाँ फिल्म ढुवानी, रोशन हमालको रङ, प्रशन्न पौडेलको मेरो बेष्ट फ्रेण्ड र अरु सम्पादकबाट फाईनल गरिसकिएको रेश मरहठ्ठाको फिल्म च्यालेन्जको पुनः सम्पादन हुँदैछ ।
ग्लोसी पिक्चर्सको नाममा स्थापना गरिएको सुरेन्द्रको कम्पनीमा सम्पादन सहित कलर करेक्शन तथा फिल्म खिच्ने 'रेड फोर के' को लेटेष्ट क्यामेरा स्कारलेट सुविधामा छ । 'एउटा कम्प्लिट स्टुडियो बनाउने योजना छ त्यसैले क्यामेरा सुविधा पनि थपेका हौं', नयाँ कार्यालयमा गफिदै उनले भने । साईड विजनेसको रुपमा बसुन्धरामा दियालो फुडल्यान्ड समेत सञ्चालन गरिरहेका उनले केही बर्ष भित्रै यो कम्पनीलाई ठूलो कम्पनीको रुपमा स्थापना गर्ने लक्ष्यका साथ नयाँ-नयाँ टेक्नोलोजी भित्राउने पनि बताएका छन् ।