
नेपाली फिल्मलाई हेर्ने एक मात्र सरकारी निकाय चलचित्र विकास बोर्ड पार्टीको भर्ती केन्द्र भएको चलचित्र निर्माता संघका महासचिव केशव भट्टराई तथा चलचित्र संघका महासचिव प्रदिप कुमार उदयको ठम्याई छ । नेपाली फिल्म नचल्नुको कारण अप्रत्क्षय रुपमा बुझ्दै सोमबार हल व्यबसायी तथा चलचित्र वितरक चैतन्य बरालको साथमा सर्लाही आईपुगेका दुई महासचिवले एउटै स्वरमा अहिले विकास बोर्ड साच्चै नै पार्टीको भर्ती केन्द्र भएको सोमबार पत्रकारहरुलाई बताए ।
यादब खरेल जस्ता व्यक्ति बोर्डका अध्यक्ष हुँदा फिल्मकर्मीको मर्म बुझेको महासचिव उदयले स्मरण गरे । अहिले जुन दलको नेतृत्वमा सरकार बन्छ त्यही दलका फिल्मको 'फ' समेत नबुझेका व्यक्ति विकास बोर्डको अध्यक्ष भएको अर्का महासचिव भट्टराईको आरोप छ । चलचित्र विकास बोर्ड नेतृत्व विहीनको अवस्थामा रहेको वेला अध्यक्षको दावेदारका रुपमा हेरिएका चलचित्र निर्माता तथा हल सञ्चालक प्रदिप कुमार उदयको नाम आएको र यदि सरकारले उदयलाई स्वीकृत गरे निर्माता संघ के भन्छ ? भन्ने पत्रकारको प्रश्नमा उदयलाई हार्दिकताका साथ स्वीकार गर्ने र अहिले बजारमा आएका नाम मध्ये उदय हरेक कोणबाट योग्य भएको पनि भट्टराईले बताए । तर अब पनि सरकारले पार्टीको निकट अयोग्यलाई भर्ती गरे निर्माता संघ विरोद्धमा उत्रने चेतावनी भट्टराईले दिए ।
भट्टराईको उत्तरमा यदि आफुलाई सरकारले नियुक्त गरे आफु नेतृत्व लिन तयार रहेको तर अध्यक्षकै लागी लविङ गरेर नहिड्ने प्रदिपले बताए । हालको अवस्थामा आशा गरिएका नेपाली फिल्मले सोचे अनुसारको ब्यापार नगर्नुमा सवै पक्ष दोषी रहेको कुरा आफूहरूको भ्रमणले निष्कर्ष निकालेको दुई महासचिवको भनाई थियो । अव चाडै नै स्थापित मान्यतालाई आधार मानि फिल्म र हलको वर्गीकरण गरिने भट्टराईले वताए ।
स्मरण रहोस भट्टराईद्धारा निर्मित 'सो सिम्पल' दशैको मुख कार्तिक ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । जसमा निर्देशक शिब रेग्मी पुत्री भावना रेग्मी तथा लेखक प्रदिप भारद्धाजका भाई प्रमोद भारद्धाज पहिलो पटक फिल्ममा देखिएका छन् । यसका अलावा राजबल्लभ कोइराला, श्वेता भट्टराई, अशोक शर्मा आदिको अभिनय रहेको छ । सो सिम्पल फिल्मले अन्य फिल्म जस्तो अश्लिलतालाई कहिंकतैबाट नछोएको बताउदै भट्टराईले सो सिम्पल सिम्पल नै भएको र निकै मेहनत गरेर तयार गरिएको कारण एक पटक सबै दर्शकलाई हेर्न अनुरोध गरे ।