
आफ्नो संस्थाका अन्य पदाधिकारीलाई खबरै नगरी चलचित्र निर्माता संघ र चलचित्र संघका महासचिव हल तथा बजार बजार अनुगमनमा निस्किएका छन् ।
चार दिन अघि देखि चलचित्र संघका महासचिव प्रदीप उदय र निर्माता संघका महासचिव केशव भट्टराई सुटुक्क अनुगमनमा निस्किएका हुन् । काठमाण्डौबाट सिधै पूर्वाञ्चलको विर्तामोड पुगेका उनीहरु दमक, बेलबारी, दुहबी, ईटहरी, झुम्का तथा धरानका दर्शक तथा हल ब्यावसायी एवं पत्रकारहरुसंग छलफल गरी फिल्म नचल्नुको कारण खोजिरहेका छन् ।
यस्तै उनीहरु हेटौडा, नारायणण, पोखरा, बाग्लुङ तथा आसपासका केही स्थानमा अनुगमन सक्दै एक किसिमको निस्कर्ष निकाल्ने तयारीमा छन् । तर संस्थागत स्वीकृति विना अनुगमनमा निस्किएका उनीहरुको यो अनुगमन संस्थाको जानकारीमा भएको भए अझ फलदायी हुने थियो । चार दिन सम्मको अनुगमनमा उदय र भट्टराईले हलवाला र दर्शक एकातिर र फिल्म अर्कोतिर भएका कारण फिल्म नचलेको प्रारम्भिक निस्कर्ष निकालेका छन् ।