
कार्तिक ३ गते प्रदर्शनमा आउने भनिएको फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' को वितरणबाट सुनिल मानन्धरले हात झिक्नुको रहस्य चुहिएको छ । वितरक मानन्धरले आफूलाई फिल्म चित्त नबुझेकाले हात झिकेको रहस्य चुहाएका हुन् ।
'पहिला डिस्ट्रिब्युसन गर्ने पक्का भएको हो तर पछि फिल्म हेरें अनि चित्त बुझेन र हात झिकें', मानन्धरले भने, 'मलाई मन परेन भन्दैमा अरूलाई मन नपर्ने भन्न त मिल्दैन तर पनि आफूलाई नै चित्त नबुझेपछि काम गर्न सकिन ।' फिल्म बनाउन खोजेको देखिए पनि केहि कुराहरूले आफूलाई चित्त नबुझाएको सुनिलको भनाई छ ।
सायद फिल्मबाट डराएर होला निर्माता कृषा चौलागाईंले केहि समय अगाडी वितरक हरि बराल, मनोज राठी लगायतले सञ्चालन गरेको एक वितरण कम्पनीलाई करिब ३५ लाखमा फिल्म बेचेको बताईएको छ । यता फिल्म किन्ने कम्पनीले भने आफ्नो लगानी सुरक्षित हुनेमा ढुक्क छ । तर रिलिजको मिती आईसक्दा पनि पब्लिसिटी कमजोर देखिनुले केहि खतराको संकेत भने गर्छ ।
मुख्य पात्र नायक आर्यन सिग्देलले पनि यो फिल्मलाई समय निकालेका छैनन् । उनी सोही मितीमा रिलिज हुने अर्को फिल्म 'धुवाँ यो नशा' को लागि समय खर्चिंदै छन् । यसबाट के बुझ्न सकिन्छ भने फिल्मबाट आर्यन पनि सन्तुष्ट छैनन् । यस्तै फिल्मका अर्का अभिनेता सन्दिप सापकोटाले पनि निर्माण युनिटसँग केहि असन्तुष्टी व्यक्त गरेका छन् ।
यि यस्ता कुराहरूले सबैभन्दा बढि असर निर्देशक सबिर श्रेष्ठलाई पर्ने देखिन्छ । पहिलो फिल्म कस्ले चोर्यो मेरो मनबाट चर्चा पाएका सबिरलाई यो फिल्मले कुन मोडमा पुर्याउँछ हेर्न बाँकी छ । तर निर्देशक सबिर श्रेष्ठ भने सुनिलले फिल्म छोडेको नभई निकालेको बताउँछन् । उनी भन्छन्, 'उहाँले भन्दा राम्रो पैसा अरूले दिन आएकाले मैले वितरणबाट हात झिक्न लगाएको हुँ ।'