
यूरोपका दुई दर्जन बढी मुलुकमा नेपाली फिल्मको ब्यवस्थित शोको तयारीमा अहिले अशोक शर्मा जुटेका छन् । डिसिएनका महाप्रबन्धक अशोकले यो तयारी भने डिसिएन टिम भन्दा बाहिर रहेर गर्न लागेका हुन् ।
अशोकले लक्जम्बर्गमा बसोबास गर्दै आएका एनआरएन निर्माता रमेश त्वयनाको सक्रियतामा यूरोपमा नेपाली फिल्मको बजार ब्यवस्थान गर्ने चासो देखाएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघ अर्न्तगतका कल्चरल डिपार्टका चिफ समेत रहेका अशोक संघको कार्यक्रमका लागि जर्मनी पुगेका हुन् र सोही मौकामा उनले रमेशसंग मिलेर नेपाली फिल्मको रिलिजको बन्दोबस्त ब्यवस्थित ढङ्गमा गर्न लागेको जानकारी दिए ।
जर्मनीबाट कुरा गर्दै अशोकले भने, 'हामीले एउटा माध्यम बनाउने छौ जहाँबाट हाम्रा निर्माताहरुले ब्यक्तिगत रुपमा यो माध्यमसंग मिलेर वा पुरै फिल्म बेचेर यूरोपमा फिल्म प्रदर्शन गर्न सकुन् ।' यस्तै अशोकले डिसिएनले यसका लागि को-अर्डिनेशनको काम गर्न भने सक्ने बताएका छन् ।
आधी बाटो नामक फिल्म निर्माणको तयारीमा रहेका एनआरएन कल्चर प्रोमोट टास्क फोर्सका चियरमेन रमेशले आफू निर्माता भएकाले पनि युरोपको बजारमा नेपाली फिल्मको ब्यबस्थित प्रदर्शनका लागि एउटा टिम गठन गर्न लागेको बताए । उनका अनुसार आउदो तीन महिना भित्र ब्यवस्थित शैलीको एउटा टिम गठन हुनेछ जसले नेपालीहरुको बाहुल्यता रहेका मुलुकमा नेपाली फिल्महरुको विशेष शो गर्ने छ ।
नेपाली निर्माताहरुले अष्ट्रेलिया र अमेरिकामा एक किसिमको सफलता पाए झै युरोपको बजारमा पनि सफलता होस भन्ने हेतुले फिल्म प्रदर्शन गर्ने एउटा संस्था त्यहाँ खोलिन लागेको हो । असोज ९ गते नेपाल फर्किने अशोकले उक्त संस्था गठनका लागि युरोप कलाकार संघका अध्यक्ष पदम गुरुङसंग पहिलो चरणको बार्ता पनि गरिसकेका छन् ।