
नेपाली फिल्म 'बडीगार्ड' ले नेपाली रजतपटमा निकै चर्चा कमाएको छ । दर्शकहरुले निकै आशा राखेको सो फिल्म रिलिज भएकै दिन कैलालीमा बर्षा सुरु भयो तै पनि फिल्म हलमा दर्शकहरु खचाखच भरिए । शनिबार र आईतबार दर्शकहरुको ओईरो लाग्यो । अरु दिन सामान्य मौसम हुँदा पनि फिल्म चल्दैनथे तर यो फिल्म हेर्न दर्शकहरुलाई बर्षाले समेत नरोकेको हल संचालकको दाबी छ ।
स्तरिय फिल्म भएपछि दर्शकहरु तान्न कुनै अन्य प्रोपोकाण्डा नअपनाए पनि धनगढीको पुष्पलाल चोकमा रहेको सरस्वती चलचित्र मन्दिरमा बडीगार्ड हेर्न दर्शकहरु थुप्रै आए । 'फिल्म सुरु भएकै दिनबाट अबिरल बर्षा आएकोले फिल्महरुमा दर्शक आउँदैनन् भन्ने लागेको थियो तर सोचे भन्दा राम्रो कलेक्सन भयो', सरस्वती चलचित्र मन्दिरका म्यानेजर बब्लु अहमदले भने- 'वर्षाको कुनै प्रभाव नगरे पनि दर्शक राम्रै आए ।' हल प्राङ्गणमा बर्षाले ताल बनाईदिंदा पनि दर्शकले पानीको प्रवाह गरेनन् । हल सञ्चालक भन्छन्, 'नेपाली फिल्म हेर्न दर्शकको यो क्रेज देख्दा म त छक्क परेको छु ।'
बलिउडको हिन्दी फिल्म बडीगार्डको हल्लाले पनि नेपाली बडीगार्डमा दर्शकको भिड वढेको म्यानेजर अहमदले बताए । राजेन्द्र उप्रेतीद्धारा निर्देशित बडीगार्ड भाद्र २९ गतेबाट देशभर एकै साथ प्रदर्शन भएको हो । आकाश शाह, सौजन्य सुब्बा, दिव्यश्वर गौतमको प्रमुख अभिनय रहेको फिल्ममा शिवम अधिकारीको पटकथा तथा संवाद, हिमाल केसीको द्धन्दनिर्देशन, कृष्ण श्रेष्ठको छायाँकन, हरि लम्सालको संगीत र बब्बु थापाको नृत्यनिर्देशन रहेको छ ।
फिल्म सामाजिक कथामा आधारित छ । एक्सन श्रेणीको यो फिल्मले देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुर्पछ भन्ने सामाजिक सन्देश बोकेको दर्शकहरुको भनाइ छ । फिल्मलाई सुशिल पोखरेलले निर्माण गरेका हुन् ।