
बिशुद्ध पारिवारिक प्रेमकथालाई बुनेर निर्माण गरिएको फिल्म 'महसुस' को सुटिङ प्याकअप गरिएको छ । शनिबार साँझ २५ औं दिनमा फिल्मको सुटिङ सकेको निर्देशक नवल नेपालले फिल्मीखबरलाई जानकारी गराए ।
सुटिङ सकेर हाल आराम गरिरहेका निर्देशक नवलले फिल्मको बारेमा जानकारी दिंदै भने, 'महसुसमा परिवार र युवायुवती बिचको प्रेमको फ्युजनलाई प्रस्तुत गरिएको छ जहाँ प्रेमकथा भित्रका द्धन्दहरू छन् ।' फिल्ममा भौतिक द्धन्द भने नरहेको नवलको भनाई छ । फिल्मलाई कमर्सियल बनाउन भौतिक द्धन्दलाई खासै प्रथमिकता नदिने नवलको भनाई छ । उनका अनुसार फिल्मको कथाले दर्शकलाई बाँधे पछि त्यो नै कमर्सियल हुनेछ ।
श्रीमान, तस्विर, युग, रात जस्ता फिल्म निर्देशन गरेका नवलको यो फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी, बेनिशा हमाल, निर शाह, मिथिला शर्मा, रश्मी भट्ट, रबिन्द्र खड्का लगायतले अभिनय गरेका छन् । कल्याण घिमिरेको कथा तथा निर्माण रहेको सो फिल्ममा निर्देशक नेपालकै पटकथा तथा संवाद, सुरेश अधिकारीको संगीत, दिव्यराज सुवेदीको छायाँकन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ । फिल्मलाई पुष महिना सम्ममा रिलिज गर्ने योजना बनाएको निर्माता घिमिरेले जानकारी दिए ।