
असोज १९ देखि हुन लागेको निर्देशक समाजको राष्ट्रिय स्तरको वर्कशप लगायत विविध फिल्मी समस्याको अवगत गराउन आज चलचित्र निर्देशक समाजले सञ्चारमन्त्री राजकिशोर यादवलाई भेटेको छ ।
ललितपुर पुल्चोक स्थित मन्त्री क्वाटरमा बिहान भएको उक्त भेटघाटमा निर्देशकहरुले उत्कृष्ट फिल्म निर्माणको एक आधारको रुपमा हेरिएको फिल्म वर्कशपलाई सफल पार्न सरकारी स्तरको सहयोग गर्न मन्त्रीलाई भेट गरेका हुन् । समाजका अध्यक्ष विमल पौडेलको नेतृत्वमा गएको एक टोलीले वर्कशप सहित उद्योगका लागि आवश्यक केही निर्णय तत्काल गर्न मन्त्रीलाई घुमाउरो ढङ्गमा दवाव पनि दिएका थिए ।
उक्त टोलीले चलचित्र बिकास बोर्डको अध्यक्ष नियुक्त फिल्मकर्मी नै हुनु पर्ने सहित सेन्सर बोर्डको पुर्नसंरचना तथा अर्न्तराष्ट्रिय फिल्म फेस्टिवलमा फिल्मकर्मीलाई जानकारी नदिई संचार मन्त्रालयका पदाधिकारी जाने परम्परालाई तरुन्त रोक लगाउन मन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा मन्त्री यादवले सम्पूर्ण बिषयमा कसैलाई असर नपर्ने गरी उक्त मागहरु लागु गर्ने प्रतिबद्धता जनाए ।
प्रखर स्वभावका संचारमन्त्री यादव फिल्मको बिषयमा पूर्ण जानकारी भएको देख्दा निर्देशकहरु हर्षित थिए । उक्त टोलीले सोही भेटमा फिल्मको बैदेशिक ब्यापारलाई बढावा दिन ९१ मुलुकमा रहेका नेपाली राजदुतावासको साँस्कृतिक सदस्यलाई सक्रिय गराउन पनि मन्त्री समक्ष माग गरेका छन् ।