
प्रायजसो आफ्नो फिल्ममा शाहरुख खानलाई लिएर निर्देशन गर्ने बलिउड फिल्म निर्देशक करण जौहरको चर्चा लगभग विश्वभर छ । फिल्ममा देखिने उनको शैली प्रस्तुतीकरण र कलाकार छनौटले दर्शकलाई उनले हल तर्फ आकर्षण गरिरहेका छन् । त्यसैले बलिउडमा करण जौहरको फिल्ममा खेल्नका लागी नामुद भनाउँदा कलाकारहरुको पनि तछाडमछाड हुने गर्छ । तर यिनै करण जौहरलाई टक्कर दिने एउटा निर्माता नेपालमै रहेछन् । हुन त आफुले आफ्नै वयान गरेको सुहाउँदैन भन्छन् तर नेपालका एक जना डेब्यु निर्माताले आफ्नो फिल्मले करण जौहरको बलिउड फिल्मलाई समेत टक्कर दिने दावी गरेका छन् ।
कुरा प्रदर्शनरत फिल्म 'भिसा गर्ल' को हो । भिसा गर्ल नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले लगानी गरेको फिल्म हो । यो फिल्मका लागी भर्खरै कलाकारको रुपमा आफ्नो भाग्य अज्माउन लागेका नायक बिनय श्रेष्ठ र उनकी प्रेमिका ऋचा शर्माले सह-लगानीकर्ताको रुपमा आफ्नो उपस्थिती देखाएका छन् । फिल्ममा सह-निर्माता र नायककको रुपमा रहेका यिनै बिनय श्रेष्ठले शनिबार पोखराका पत्रकारसामु आफ्नो चलचित्र करण जौहरको कुनै पनि फिल्म भन्दा कम नभएको दावी गरेका हुन् । 'हाम्रो फिल्ममा दर्शकले बलिउड र हलिउडको निर्माण शैली भेट्टाउनु हुनेछ', फिल्मको प्रचारप्रसारमा रहेको निर्माण युनिटमा रहेका विनय श्रेष्ठले देश दौडाहाको यात्रालाई पोखरामा टुंग्याउँदै भने ।
प्रायजसो आफ्नो फिल्मको प्रचारप्रसारमा देश दौडाहा गर्ने अन्य फिल्म युनिटले भने आफ्नो फिल्मलाई बलिउड र हलिउड फिल्मसंग दाँज्न नहुने कुरा गर्दै आएका छन् । 'सानो वजेटमा सानै बजारको लागी निर्माण हुने फिल्महरुलाई बलिउड र हलिउडका फिल्मसंग दाँज्न मिल्दैन', सबै फिल्ममेकरको एउटै वनावटी उत्तर यस्तै हुन्छ । तर बिनयको यो कुरालाई पोखराका रंग पत्रकारहरुले केहि महत्वका साथ हेरेका छन् । करण जौहरको बलिउड फिल्मसंग आफ्नो फिल्मको दाँजो गर्दा आफुहरु कुनै हालतमा तल नपर्ने दावी गरेका विनयले भिसा गर्ल नेपालकै विभिन्न खाले युवापुस्ताको कथा भएको भन्न भने छुटाएनन् ।
यसअघि पोखरा आएर आफ्नो देश दौडाहा सकाएको फिल्म 'आई एम सरी' र 'हाईवे' ले पनि यस्तै खाले गफ दिएर काठमाण्डौ फर्केका थिए । यद्यपी पोखरामा पत्रकार सम्मेलन गरेर आफ्नो देश दौडाहा सकाएका यी दुई फिल्म व्यापारिक हिसाबले असफल भए । अहिले आएर भिसा गर्ल टिमले गरेको आफ्नै भविष्यवाणीलाई पनि पोखराका रंग पत्रकारहरुले पत्याएका छैनन् । यद्यपी आफ्नो उत्पादनलाई राम्रो भनेर बिकाउने हरेक व्यापारीको काम हो तर दर्शकले फिल्म भिसा गर्ल लाई कसरी लिने हुन् र व्यापारिक हिसाबले भिसा गर्लले कस्तो प्रस्तुतीकरण दिने हो त्यो हेर्नलाई भने असोज १२ नै कुर्नुपर्ने हुन्छ ।
बिनय र ऋचाको साथमा कर्म, रेमनदास श्रेष्ठ, रीमा बिश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको सो फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् ।